मोदीको र्‍याली पूर्व श्रृंखलावद्ध विष्फोट, पाँचको मृत्यु, ७१ घाइते

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १०:३५ मा प्रकाशित

भारत– भारतको पूर्वी भागमा अवस्थित नगर पटनामा आइतबार प्रतिपक्षी दलका नेता नरेन्द्र मोदीले निर्वाचन अभियान सभाको आयोजना गर्नु केही समयपूर्व शृङ्खलाबद्ध रूपमा कम क्षमताका बम विस्फोट हुँदा पाँच व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

पटनामा सभाको आयोजना गरिने स्थलमा सात साना बम विस्फोट भएका थिए भने त्यहाँ हिन्दू कट्टरपन्थी, लोकप्रिय तर विभाजक नेता मोदीको बिहार राज्यमा हुने निर्वाचनमा प्रतिपक्षको अभियान आरम्भ गर्ने भाषण सुन्न लाखौँ व्यक्ति भेला भइरहेका थिए । पहिलो विस्फोट पटनाको रेल विसौनीको सार्वजनिक शौचालय भएको थियो ।

त्यसपछि अन्य विस्फोटहरू गान्धी मैदाननजिकै तथा त्यसको बाहिरी भागमा भएका थिए । यसै मैदानमा उक्त भेला आयोजना भएको थियो । पटनामा प्रहरी अतिरिक्त महानिर्देशक एस.के. भारद्वाजले यस शृङ्खलावद्ध विस्फोटमा पाँच व्यक्तिको मृत्युभएको तथा अन्य ६० घाइते भएको बताए ।

अर्का प्रहरी अधिकारीले दुई व्यक्तिलाई पक्राउ गरिएको पनि जानकारी दिए । यसबीच राष्ट्रिय सरकारले यस विषयमा अनुसन्धान गर्न बिहारमा आतङ्क नियन्त्रण बल परिचालन गरेको छ । टेलिभिजनमा विस्फोट भएको स्थानबाट धुवा आइरहेको र मानिसहरू दौडिरहेको देखिएको थियो ।

पटना मेडिकल कलेज तथा अस्पतालका एक अधिकारीले करिब आधा दर्जन व्यक्तिको अवस्था गम्भीर रहेको बताए । उनले केही व्यक्तिलाई विस्फोटपछि भएको भागदौडमा चोट लागेको बताए । विशेषगरी धार्मिक अल्पसङ्ख्यक समुदायमा विभाजक व्यक्तित्व मोदीले पछि सभालाई सम्बोधन गर्नुभयो र बिहारमा हिन्दू तथा मुसलमानलाई गरिबी अन्त्य गर्न एक हुन आग्रह गर्नुभयो । आउँदो मे महिनामा हुने आमनिर्वाचनका लागि यो पनि एक रणमैदान बनेको छ ।

modi-narendra-india

काँग्रेसविरुद्ध मोदी

गत महिना भारतीय जनता पार्टीले मोदीलाई राष्ट्रिय निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गरेपछि उहाँले सत्ताधारी कङ्ग्रेस पार्टीलाई शासनबाट हटाउन अभियान सञ्चालन गरिरहेका छन् ।

मोदी आर्थिक रूपमा सफल राज्य गुजरातका मुख्यमन्त्री हुन् । उनी व्यावसायिक समुदायबीच लोकप्रिय छन् । उनी विजयी भएमा एसियाको तेस्रो ठूलो अर्थतन्त्र पुनः आफ्नो स्थानमा आइपुग्ने धेरैले आशा गरेका छन् । सन् २००२ मा गुजरातमा भएको धार्मिक दङ्गाका कारण मोदी अझै पनि विभाजक व्यक्तिको रूपमा देखापरेका थिए ।

उक्त दङ्गामा करिब दुई हजार व्यक्तिको मृत्यु भएको र त्यसमा मुख्य रूपमा मुसलमान परेको जानकारी मानव अधिकारवादी समूहले दिएका छन् । उक्त समयमा मोदी मुख्यमन्त्री थिए र उनले आफू कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनका एक मन्त्रीलाई गत वर्ष मात्र उक्त हिंसा गराएको आरोपमा काराबासको सजाय तोकिएको थियो ।

मनमोहन सिंहद्वारा भत्र्सना

प्रधानमन्त्री मनमोहन सिंहले आइतबारको विस्फोटलाई भत्र्सना गर्दै एक वक्तव्य जारी गरेका छन् । उनले संयम रहन आर्गह गर्दै यस घटनाको जिम्मेवार व्यक्तिलाई पहिचान गर्न र त्यसमाथि कारवाही गर्न निर्देशन दिएका छन् ।

गृहसहायकमन्त्री आर.पी.एन. सिंहले राष्ट्रिय सुरक्षा समूह तथा राष्ट्रिय अनुसन्धान संस्थाका अधिकारीहरू बिहारमा परिचालन गरिएको बताए । रेलविसौनीमा विस्फोट नभएका दुई बम फेला परेका थिए भने त्यसलाई बम निष्क्रिय पार्ने समूहले आफ्नो नियन्त्रणमा लिएको जानकारी एक प्रहरी अधिकारीले प्रेस ट्रस्ट अफ इन्डियालाई दिए ।

दुर्भाग्यपूर्ण: मोदी

सभापछि मोदीले उक्त विस्फोटले गहिरो रूपमा दुःखी बनाएको र दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले पीडित व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ भने घाइतेका लागि प्रार्थना गर्ने बताएका छन् । मोदीले शान्ति र संयमका लागि आग्रह गरेका छन् ।

यस वर्षको अन्त्यतिर भारतमा पाँच प्रमुख राज्यमा निर्वाचन भइरहेको छ भने मोदी तथा कङग्रेस पार्टीका तर्फबाट राहुल गान्धीले मुलुकको विभिन्न भागमा अनेकौँ सभालाई सम्बोधन गर्दै छन् । यी निर्वाचनलाई दुबै पार्टीको लोकप्रियताको परीक्षणको रूपमा लिइएको छ र दुबै दल आगामी वर्ष हुने आमनिर्वाचनका लागि यी निर्वाचनका नतिजालाई पूँजीकृत गर्ने अपेक्षामा रहेका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us