
काठमाण्डु, १० कात्तिक–नेपाल व्यायाम मन्दिरले विभिन्न प्रतियोगितामा पदक जित्न सफल राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आइतबार काठमाण्डुमा आयोजित सम्मान कार्यक्रममा गत वर्ष धरानमा भएको चौथो मिस्टर हिमालयको पुरुष ५५ केजीका स्वर्ण विजेताका सुजन तामाङ, ७० केजीका स्वर्ण विजेता श्याम श्रेष्ठ, ६५ केजीका स्वर्ण विजेताका साथै मिस्टर हिमालय उपाधि विजेता रामबहादुर दाहाल, ६० केजीका रजत विजेता रामहरि खनाल तथा ७५ केजीका रजत विजेता सन्जिव श्रेष्ठ सम्मानित भएका हुन् ।
त्यस्तै गत फागुनमा भैरहवामा भएको दोस्रो मिस्टर नेपालको पुरुष ६० केजीका स्वर्ण विजेता सुजन तामाङ, ६५ केजीका स्वर्ण र विजेता श्याम श्रेष्ठ, ७० केजीका स्वर्ण विजेता सन्जिव श्रेष्ठ, ८० केजीका रजत विजेता प्रभाश केसी तथा ७७ केजीका कास्य विजेता दीपकध्वज ठकुरीलाई सम्मान गरियो ।
प्रत्येक स्वर्णलाई १० हजार, रजतलाई रु ७ हजार र कास्यलाई रु ५ हजारका दरले सम्मान गर्नुका साथै प्रशंसापत्र प्रदान गरिएको हो । सम्मानित भएकाहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले सम्मान पत्र समेत प्रदान गर्नुभयो ।
खेलाडीलाई सम्मान गर्दै लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्दै देशको सान उँचो पर्ने खेलाडीहरुलाई राज्यले पनि उचित सम्मान गर्ने प्रथाको थालनी भएको बताए । रासस