सन् २००२ देखि नै जर्मन चान्सलरमाथि जासुसी

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ३:४० मा प्रकाशित

काठमाण्डु, १० कात्तिक–जर्मनीको एउटा पत्रिकाले सन् २००२ देखि नै जर्मन चान्सलर एन्जेला मार्केलको फोनमा अमेरिकाले जासुसी गरेकोे खुलासा गरेको छ । दार स्पेईजल नामक पत्रिकाले मार्केल जमन चान्सलर बन्नुपूर्व नै उनको फोनमाथि अमेरिकी जासुसहरुको निगरानी रहेको खुलासा गरेको हो ।

जर्मन पत्रिकाले अमेरिकी सुरक्षा संस्था नेशनल सेक्युरिट एजेन्सी सन् २००२ को गोप्य दस्तावेज आफूसँग रहेको र दस्तावेजमा मार्केलको टेलिफोन नम्बर उल्लेख रहेको दावी गरेको छ । मार्केलको टेलिफोन के कसरी निगरानीमा राखिएको थियो सो भने दस्तावेजबाट स्पस्ट नभएको पत्रिकाले जनाएको छ । पत्रिकाले चान्सलरको जासुसीका क्रममा उनको टेलिफोनमा भएका वार्तालाप रेकर्ड गरिएको अथवा उनका टेलिफोनमा रहेको सम्पर्कबारे जानकारी लिएको हुन सक्ने दावी गरेको छ । जासुसी गरिएको पुष्टी भए पनि कस्तो खालको जासुसी गरिएको थियो दस्तावेजबाट स्पस्ट नभएको पत्रिकाले जनाएको छ । पत्रिकाले जर्मन चान्सलर बाहेक अन्य युरोपेली नेताहरुमाथि गरिएको जासुसीबारे पनि दस्तावेजमा उल्लेख भएको दावी गरेको छ ।

यता युरोपेली युनियनले युरोपका नेताहरुको टेलिफोन जासुसी गरेकोमा अमेरिका समक्ष कडा आपत्ति जनाएको छ । जर्मनी र फ्रान्सले अमेरिकासँग आईन्दा जासुसी नगर्ने सम्झौतामा हस्ताक्षर गर्न माग गरेका छन् । दक्षिण अमेरिकी देशका नेताहरुले पनि अमेरिकाले आफूहरुमाथि जासुसी गरेको भन्दै अमेरिकासित आपत्ती जनाएका छन् । जासुसीको खबरले अमेरिकाको युरोपेली मुलुक र दक्षिण अफ्रिकी मुलुकहरुसितको सम्बन्ध चिसिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us