फेसबुकले जुटायो ५२ लाख,बच्यो शान्तिको जीवन

काठमाण्डु टुडे २०७० कार्तिक १० गते २:३९ मा प्रकाशित

म्याग्दी, १० कात्तिक–शरीरमा रगत उत्पादन नहुने (हाइपोपलास्टिक एनिमिया) रोगबाट थलिएकी म्याग्दीकी एक युवतीको लाखौँ रुपैयाँ चन्दा सङ्कलन गरेर उपचार गरिएको छ ।face book
चन्दा सङ्कलन अभियानबाट जुटेको रकम खर्च गरेर शुक्रबार भारतको कोलकतास्थित टाटा मेडिकल सेन्टरमा सिंगा गाविस–१ की ओमकुमारी (शान्ति) पुनको बोनम्यारो प्रत्यारोपण गरिएको हो ।
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण साढे चार वर्षदेखि उपचार पाउन नसकेकी शान्तिको उपचार खर्च जुटाउनका लागि गत जेठमा गठन भएको सहयोग समितिको ग्लोबल आइएमई बंैकको ४८०७०१००००११४९ नम्बरको खातामा ५२ लाख रुपैया रकम जम्मा भएको थियो ।
बोनम्यारो प्रत्यारोपण सफल भएको र अझै तीन महिना डाक्टरको निगरानीमा कोलकतामै बसेर उपचार गराउनुपर्ने शान्तिका दाजु लोकेश पुनमगरले जानकारी दिए । उनका अनुसार रोग पूर्ण रुपमा निको पार्न थप नौ महिना औषधि सेवन गर्नुपर्नेछ । देश विदेशमा रहेका म्याग्देलीहरुको सहयोगकै कारण उपचार सम्भव भएको बताउँदै पुनले सहयोगीप्रति आभार व्यक्त गरेका छन ।
ओमकुमारी (शान्ति) उपचार सहयोग समितिका कोषाध्यक्ष हरिकृष्ण गौतमले सामाजिक सञ्जाल फेसबुकको प्रयोगका साथै घरदैलो र भेटघाट गरेर स्वदेश तथा विदेशमा रहेकाहरुबाट करिब तीन महिनाको अवधिमा ५२ लाख रुपैया सङ्कलन भएको जानकारी दिए ।
“रोगले सिथिल भएकी पुनको तस्बिरसहितको अपिल तयार पारेर फेसबुकमार्फत देशविदेशमा रहेका म्याग्देलीहरुसँग सहयोगको आह्वान गरिएपछि सबैबाट सक्रिय सहयोग भयो”– समितिका संयोजक चन्द्रकुमार केसीले भने । सहयोगका लागि बेनीमा घरदैलोका साथै पोखरा र काठमाण्डुमा भेला पनि गरिएको थियो ।
सहयोग अभियानमा सबैभन्दा बढी सदरमुकाम बेनीबाट आठ लाख रुपैयाबाहेक, बेलायतबाट मोना युकेमार्फत चार लाख १६ हजार रुपैया, दोहा कतारबाट चार लाख चार हजार रुपैया, हङ्कङबाट दुई लाख ३४ हजार रुपैया, इराकबाट ७९ हजार रुपैया, फिनल्यान्डबाट ५३ हजार रुपैया, डेनमार्कबाट ३९ हजार रुपैयासँगै पोखरा र काठमाण्डुमा रहेका म्याग्दी संबद्ध संस्थामार्फत पाँच लाख रुपैया सहयोग प्राप्त भएको थियो ।
शान्तिको उपचारका लागि २५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । कोषाध्यक्ष गौतमले बचत भएको रकमले सामाजिक कोष स्थापना गर्ने योजना रहेको जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us