पासाङ भन्छन–खेलाडी सबैभन्दा राष्ट्रवादी

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १३:२३ मा प्रकाशित

काठमाण्डु ९ कात्तिक–एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन ‘पासाङ’ले खेलाडी सबैभन्दा बढि राष्ट्रवादी हुने बताएका छन् । पशुपति मार्शल आर्ट परिवारले आयोजना गरेको खेल तथा कौशल प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पुनले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी सबैभन्दा बढि राष्ट्रवादी हुने बताएका हुन् । पशुपति क्षेत्रभित्र आयोजना गरिएको खेल तथा कौशल प्रदर्शनीको निरीक्षणपछि नेता पुनले भने ‘खेलाडीबाहेक अरु राष्ट्रवादी नै हुँदैनन् भन्ने होइन तर राष्ट्रको तर्फबाट खेल्ने, राष्ट्रका लागि खेल्ने, राष्ट्रलाई चिनाउने खेलाडीहरु सबैभन्दा राष्ट्रवादी हुन्छन् ।’Pasang
संविधानसभा निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फमा एमाओवादी उम्मेदवारसमेत रहेका नेता पुनले राष्ट्रवादी खेलाडीको सम्मान आफू र आफ्नो पार्टीले गर्ने पनि बताए । ‘राष्ट्रलाई चिनाउनमा खेलाडीहरुको मुख्य भूमिका रहेको हुन्छ’, नेता पुनले भने ‘तर, खेल क्षेत्रको विकासका लागि अहिलेसम्मका सरकारले राम्रो काम गर्न सकेनन् । खेल क्षेत्रको विकासका लागि हाम्रो पार्टीले ठोस कार्ययोजना प्रस्तुत गरेको छ । खेल क्षेत्रको विकासका लागि म र मेरो पार्टीले सक्दो पहल गर्नेछ ।’
सम्बोधनका क्रममा नेता पुनले आफूले विजय हासिल गरे सम्पूर्ण युवा र खेलाडीहरुको नेतृत्व लिएर राष्ट्र निर्माणमा अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । एनेकपा माओवादीको स्पष्ट बहुमत आए स्थिर सरकार सञ्चालन गर्न सकिने र स्थिर सरकारले मात्रै सबै क्षेत्रको तिब्र विकास सम्भव हुने नेता पुनको भनाई थियो । पशुपति मार्शल आर्ट परिवारले प्रस्तुत गरेको खेल र कौशल प्रदर्शनीको निरीक्षणपछि नेता पुनले खेलाडीहरुलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us