स्नोडनको सूचना चुहावट अमेरिकी इतिहासमा सबैभन्दा गम्भीर

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ७:०० मा प्रकाशित

वासिङटन–अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्व उपप्रमुख माइकल मोरलले पूर्व गुप्तचर ठेक्केदार एडवर्ड स्नोडनले चुहाएका सूचनाबाट अमेरिकाको इतिहासमा सबैभन्दा गम्भीर प्रकृतिका गोप्य सूचना सार्वजनिक भएको र यसले अमेरिकाको कठिनाइ अझै बढाउने धारणा व्यक्त गरेका छन् ।
मोरलले सीबीएसको ‘‘सिक्स्टी मिनेट’’ कार्यक्रममा स्नोडनले चुहाएको सूचनाका कारण भविष्यमा आतङ्कवादीका चुनौती पत्ता लगाउने प्रयासमा क्षति पु¥याउने बताए ।     उनले स्नोडनले चुहाएका सूचनाका कारण आतङ्कवादीहरूले पाठ सिक्ने, उनीहरू अझै सावधान हुने र अमेरिकाले प्राप्त गर्नुपर्ने गोप्य सूचना प्राप्त गर्न नसक्ने भएकाले यसले अमेरिकालाई सबैभन्दा बढी जोखिममा पारेको बताए । मोरेलले ३३ वर्षसम्म सीआईएका लागि काम गरेका थिए ।
स्नोडनले आफूलाई राष्ट्रिय सुरक्षा संस्थाको गुप्तचरीका विषयमा जनतालाई जानकारी दिने व्यक्तिको रूपमा प्रस्तुत गरेका छन् तर मोरलले स्नोडन आफ्नो मुलुकका लागि विश्वासघाती भएको बताए ।
उनले यो चुहावटा सबैभन्दा गम्भीर प्रकृतिको चुहावट भएको र त्यो अमेरिकी गुप्तचर समुदायको इतिहासमा गोप्य सूचना चुहाउने सबैभन्दा गम्भीर प्रकृतिको कार्य भएको बताए । मोरलले स्नोडनको गुप्तचर समुदायको गोप्य बजेट अर्थात ‘‘ब्ल्याक बुक’’ बारे जानकारी दिने कार्य सबैभन्दा क्षतिकारक चुहावट भएको उल्लेख गरे ।
उनले गुप्तचर संस्थाको खर्च विवरणको जानकारीले उनीहरूको प्राथमिकता तथा कमजोरीका बारेमा जानकारी दिने र त्यसलाई विदेशी गुप्तचर सेवाहरूले उपयोग गर्नसक्ने बताए ।
मोरलसँगको अन्तर्वार्ताको पूर्ण विवरण सीबीएसले आइतबार प्रशारण गर्नेछ । उनले वासिङटनमा सरकार आंशिक रूपमा बन्द हुनुले अमेरिकाका सहयोगीहरूलाई त्रस्त पारेको तथा घरेलु तथा विदेशी बजारलाई भ्रमित बनाएको बताए ।
उनले अमेरिकालाई अगाडि बढाउन सहयोग गर्ने सरकारी निर्णय गर्न नसक्ने कार्यले आफूलाई रातमा सुत्न नसक्ने बनाएको पनि उल्लेख गरे । उनले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षा त्यसको अर्थतन्त्र र समाजमा टिकेको बताए ।
मोरेलले सन् २०१० देखि २०१३ सम्म सीआईएका उपप्रमुखको रूपमा काम गरे र उनले दुई पटकसम्म यस संस्थाका कार्यवाहक प्रमुखको रूपमा पनि काम गरे । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us