
ब्रिटिश सेनाबाट सेवानिवृत्त भूपू गोर्खा सैनिकहरुले आफुहरु विरुद्ध भेदभाव कायमै रहेको भन्दै लण्डनस्थित सँसद भवन बाहिर रिले भोक हडताल शुरु गरेका छन्।
समान पेन्सन लगायतका आफ्ना मागहरुबारे ब्रिटिश सरकारले कुनै ठोस जवाफ नदिएकाले वाध्य भएर त्यस्तो कदम चाल्नुपरेको उनीहरुको भनाइ छ।
तर ब्रिटिश सरकारले भने भूपू गोर्खा सैनिकहरुप्रति कुनै भेदभाव नगरिएको जनाउँदै आएको छ।
लण्डनको वेस्टमिन्स्टरस्थित ऐतिहासिक ब्रिटिश सँसद भवन बाहिर भेला भएका सैयौं भूपू गोर्खा सैनिक तथा तिनका परिवारहरुले प्रदर्शनमा भाग लिएका थिए।
कैयौं भूपू गोर्खाहरु सैनिक पोशाकमा देखिन्थे भने महिलाहरु साडी, चोलो र विभिन्न जातीय पोशाकमा।
उनीहरुले “हामी न्याय चाहन्छौं, आयो गोर्खाली” जस्ता नाराहरुलगाउँदै टेन डाउनिङ स्ट्रीटस्थित ब्रिटिश प्रधानमन्त्रीको कार्यालयमा गै एउटा ज्ञापनपत्र बुझाएका थिए।
सन् २००९ मा तत्कालिन ब्रिटिश सरकारले ब्रिटिश सेनामा कम्तीमा चार वर्ष सेवा गरेका गोर्खा सैनिकहरुलाई आवासीय अधिकार दिने घोषणा गरेयता हजारौं भूपू गोर्खा तथा तिनका परिवार बेलायत आइसकेका छन्।
धेरैले यसलाई भूपू गोर्खा सैनिकहरुको जितको रुपमा पनि लिएका थिए।
तर कैयौं गोर्खा सैनिकहरु अझै पनि आफुहरु विरुद्ध भेदभाव कायमै रहेको बताउँछन्।
‘गोर्खा सत्याग्रह’ नाम दिइएको अभियानका एकजना अगुवा डाक्टर रामनारायण कन्दङबाले भने, “हाम्रो प्रमुख माग समान पेन्सन हो, जुन पुरा भएकै छैन। बेलायती सहकर्मी भन्दा हामीले तीन गुनाभन्दा पनि कम पेन्सन पाइराखेका छौं। त्यसैले हामीले न्यायका लागि यो लडाईं लडनु परेको हो।”
त्यसो त भूपू गोर्खा सैनिकहरुले समान पेन्सनलगायतका मागहरु अघि सार्दै कहिले ब्रिटिश सँसद त कहिले बेलायती अदालतका ढोकाहरु नढक्ढक्याएका हैनन्।
एउटा गोर्खा सँगठन, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) को पहलमा फ्रान्सस्थित मानवअधिकारसंबन्धी युरोपेली अदालतमा दायर गरिएको मुद्दा अझै विचाराधीन छ।
सन् १९९७ अघि सेवा निवृत्त भएका भूपू सैनिकहरुलाई ब्रिटिश सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति, अठार बर्ष नाघेका छोराछोरीलाई पनि बेलायत ल्याउन पाउनुपर्ने तथा नेपालमै रहेका भूपू गोर्खा र तिनका परिवारलाई औषधिउपचारको प्रबन्ध लगायतका मागहरु राखी थालिएको रिले भोक हडताल पछि पनि ब्रिटिश सरकारले वार्ताकालागि नबोलाएमा आउँदो नोभेम्बर सात तारिखदेखि आमरण अनशन शुरु गर्ने आयोजकहरुले जनाएका छन्।
शुक्रबार दुई जना भूपू गोर्खा तथा एकजना महिला चौबीस घन्टे भोक हडतालमा बसेका छन्।
दुई सातासम्म रिले भोक हडताल जारी रहने बताइएको छ।
पहिलो चरणको भोक हडतालमा सहभागी ६६ बर्षीय भूपू गोर्खा दिलबहादुर राईले भने, “हाम्रो दुईसय बर्षको सँघर्ष हो। हाम्रो कुनै सुनुवाइ हुंदैन भने हामी बाँच्नुको अर्थ के छ र? हामी पनि भोक हडताल गरेर मर्ने भन्ने हाम्रो चाहना हो।”
तर ब्रिटिश सरकारले भने ब्रिटिश सेनामा गोर्खा सैनिकहरुको ऐतिहासिक सेवाको आफुले उच्च सम्मान गरेको तथा उनीहरुप्रति कुनै भेदभाव नगरिएको जनाउँदै आएको छ।
ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले भूपू गोर्खाहरुका समस्या वार्ताको माध्यमबाट सुल्झाउन सरकार तयार रहेको जनाएका थिए।
तर ब्रिटेनको गठबन्धन सरकारले आन्दोलनकारी भूपू गोर्खाहरुलाई वार्ताकालागि कहिले बोलाउने हो, अझै स्पष्ट भैसकेको छैन। Source BBC