बेलायती प्रधानमन्त्रीको श्रीलङ्का भ्रमण निश्चित

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १४:३१ मा प्रकाशित

कोलम्बो,  कात्तिक–बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन अर्काे महिना श्रीलङ्का आउने निश्चित भएको छ । आगामी महिना श्रीलङ्कामा हुनलागेको राष्ट्रमण्डल सम्मेलनमा सहभागिताका लागि उनी त्यहाँ आउन लागेका हुन । British Prime Minister Cameron addresses media in Berlin
सो भ्रमणका क्रममा श्रीलङ्कालाई मानवअधिकारका लागि प्रतिबद्ध गराउने काममा उनले दबाब दिने अनुमान छ ।
श्रीलङ्कामा युद्ध अपराध भएको र हालका दिनमा पनि मानवअधिकारको अवस्था राम्रो नरहेको भन्दै प्रधानमन्त्री क्यामरुनलाई त्यहाँ नजान बेलायत र बाहिरबाट समेत व्यापक दबाब दिइएको थियो ।     तर ती दबाबका बाबजुत पनि उनी श्रीलङ्काको भ्रमणमा जान लागेका हुन । तर आफूले त्यहाँ रहँदा श्रीलङ्काली सरकारलाई मानवअधिकारका लागि बाध्य पार्ने उनले बताए ।
उनले आफू श्रीलङ्का जाने निर्णय गरेको जानकारी लन्डनमा बुधबार म्यानमारका प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीसँग बताएका हुन । प्रधानमन्त्री क्यामरुनले भने ‘मैले श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्छेसँग यस विषयमा निकै लामो कुराकानी गरेको छु र भ्रमणका क्रममा पनि उठाउने छु । श्रीलङ्काले युद्धका समयमा गरेका क्रियाकलापहरुप्रति हामी सन्तुष्ट छैनौँ र हालैका दिनमा उसको मानवअधिकारको अवस्थाप्रति पनि हामी आलोचनात्मक नै छौँ ।’
प्रधानमन्त्री क्यामरुनले भने ‘तर यी सबै विषयमा कुराकानी गर्नका लागि पनि हामी त्यहीँ जानुपर्दछ । श्रीलङ्कामा हालैका वर्षहरुमा पनि मानवअधिकारको अवस्था राम्रो नरहेको भन्दै आगामी महिना हुन लागेको सो सम्मेलनमा त्यहाँ नजान अधिकारवादीहरुले विश्वका नेताहरुलाई आग्रह गरिरहेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us