प्युठान प्रशासनको आदेश अटेर

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ४:३१ मा प्रकाशित

प्युठान, ८ कात्तिक–प्यूठान जिल्ला सदरमुकाम जाने बाटो जोखिमपूर्ण बनेको छ । सार्वजनिक बाटो अवरोध हुनेगरी राखिएका निर्माण तथा ब्यापारीक सामग्रीहरु हटाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि सोको पालना हुन सकेको छैन ।

जिल्ला प्रशासनले दशै अघि नै सर्बदलीय बैठकबाट निर्णय गराएर तीन दिन भित्र त्यस्ता सामग्रीहरु हटाउन सार्बजनिक सूचना प्रशारण तथा प्रकाशन गरेको थियो । निर्देशनमा भनिएको छ, ‘तीन दिन भित्र सामग्रीहरु नहटाए कानून अनुसार कारवाही गरीने छ ।’

जिल्लाका विभिन्न स्थानमा सडक छेउछाउँ ब्यापारीक सामग्री लगायत निर्माण सामग्री गिट्टी, बालुवा, रोडा फलामका सरीया लगायतका सामग्रीहरु अझै पनि राखिरहेका छन् । प्रशासनले सूचना जारी गरेर पनि निर्माण सामग्री नहट्दा सर्बसाधारणदेखि सचेत नागरीकहरुले प्रशासन र सम्बधित पक्षको मिलेमतो भएको हुनसक्ने आरोप लगाएका छन् ।

सदरमुकाम खलंगा बजारमा सांघुरो सडक भएकोले सडकको छेउछाउमा राखिएका निर्माण सामग्रीले त सर्वसाधारणलाई पैदल आवत जावत गर्न समेत समस्या भएको स्थानियले गुनासो गरेका छन् ।

उता सडक छेउछाउमा राखिएका सामग्रीका कारण सवारी दुर्घटना बढेको स्वर्गद्वारी बस ब्यवसायी समिति प्यूठानका कार्यालय प्रमुख घनश्याम घर्तीले बताए । सडकको १५ मिटर वरीपरी कुनैपनि सामग्री राख्न नपाईने व्यवस्था उल्लंघन भएको उनको भनाइ छ । घर्तिले भने, ‘सर्वसाधारणदेखि तपाई हामी सबैलाई थाहा छ यसरी निर्माण सामग्री राख्दा सवारी दुर्घटना निम्तिन्छ भन्ने, तर हामी कसैले पनि यसमा ध्यान दिएका छैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us