प्रेम चक्करमा जिन्दगी बर्वाद

काठमाण्डु टुडे २०७० असोज १४ गते १८:०७ मा प्रकाशित

भक्तपुर, १४ असोज–घरकी श्रीमती र छोराछोरीको बेवास्ता गरेर प्रेम चक्करमा रमाएका तीन जनाको जिन्दगी बर्बाद भएको छ । घरका परिवारको बेवास्ता गर्दै यौन आवेगले भरिएको माया जालमा पर्दा एक महिलाले ज्यान गुमाउनुपरेको छ भने अर्की एक महिला र एक पुरुष जेलको चिसो छिडीँमा दिनरात काट्नु परेको छ ।
चार वर्ष अघिदेखि मात्रै श्रीमान्को मृत्यु भएपछि भक्तपुरको कमलविनायकमा बसेर मजदुरी गर्दै आएकी उमेरले चार दशक पुग्न लागेकी चार छोरी र एक छोराकी आमासमेत रहेकी महिलालाई उनकै प्रेमी र प्रेमीको अर्की प्रेमिका मिलेर हत्या गरेको रहस्योद्घाटन भएको छ ।
सिन्धुली तामाजोर गाविस–९ स्थाई घर भई हाल भक्तपुर नगरपालिका–४ कमलबिनायकमा डेरा गरी बस्दै मजदुरी काम गर्ने ३८ वर्षकी होइसाङ माया मोक्तानलाई गत ११ गते राति हत्या गरेर फालिएको अवस्थामा उनको शव भक्तपुरकी जगाते आदर्शस्थित अरनिको राजमार्ग खण्डमा फेला परेको थियो ।
हत्यामा संलग्न रहेका सर्लाही जिल्ला ढुङ्ग्रेखोला गाविस घर भई हाल भक्तपुर नगरपालिका नागपोखरीमा डेरा गरी बस्ने ३२ वर्षको तीर्थमान जिम्बा तामाङ र सिन्धुली तामाजोर गाविस–७ घर भई भक्तपुर नगरपालिका–१७ मा डेरा गरी बस्ने वर्ष ३० की सरिता भन्ने साइलीमाया बललाई पक्राउ गरी महानगरीय प्रहरी परिषर भक्तपुरले सोमबार सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश थापाले त्रिपक्षीय प्रेम र आर्थिक लेनदेनमा दुईजना मिलेर मोक्तानको हत्या गरी दुर्घटनामा मृत्यु भएको भन्ने पार्नका लागि सडकमा शव फालेको अवस्थामा फेला परेको बताए ।
घटनाक्रमका बारेमा जानकारी दिँदै थापाले ज्यामी काम गर्ने तीनै जना एकै ठाउँमा काम गर्दै गर्दा मृतक मोक्तान र तीर्थमानको प्रेम सम्बन्ध रहेको र यसैक्रममा उनीहरूबीच पटकपटक यौन सम्बन्ध राख्दै आएको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा तीर्थमानले मृतककै गाउँकी साइलीसँग पनि प्रेम तथा यौन सम्बन्ध राख्दै आउने क्रममा मृतक होइसाङ मायाले तीर्थमानबाट गर्भवती भएको र केहीदिन अघि मात्रै चार महिनाको गर्भपतन गरेपनि विवाद चुलिएको प्रहरीले जनाएको छ ।
मृतक महिलाले गर्भपतन गरेपछि तीर्थमानसँग लागेको खर्च १८ हजार रुपैया मागेपछि आवेगमा आएर तीर्थमान र साइली मिलेर खुट्टा र घाँटी थिचेर हत्या गरेको हत्यापछि साइलीले मृतक महिलाको योनीमा लौरो घुसारेर योनी क्षतविक्षत बनाएको अनुसन्धानको क्रममा पुष्टि भएको प्रहरी प्रवक्ता थापाले बताए ।
चार छोरी र एक छोराकी आमा होइसाङ माया र तीर्थबीचको प्रेममा सामेल साइलीका पति विगत दश वर्षदेखि विदेशमा रहेको प्रहरीको भनाइ छ ।    प्रहरीले हत्या गरी फरार रहेका साइलीमाया वललाई पुरानो ठिमीबाट र तीर्थमान जिम्बालाई काठमाडौँ गोलढुङ्गाबाट १२ गते नै पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us