राजनीतिक स्थिरता आर्थिक उन्नतिको ढोका

काठमाण्डु टुडे २०७० असोज १४ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, १४ असोज –नेपालका लागि भारतका राजदूत रञ्जित रेले युगअनुरूप सम्बन्धलाई नयाँ उचाइमा उठाउनुपर्ने बताएका छन । नेपाल र भारतबीच सदियौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको स्मरण गराउदै राजदूत रेले राजनीतिक स्थिरतासँगै नेपालमा आर्थिक उन्नतीको ढोका खुल्ने बताएका हुन ।
नेपाल भारत मैत्रीसंघले नववियुक्त राजदूत रेको स्वागतमा आज यहाँ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले नेपालको आर्थिक विकासमा भारत सरकार हरप्रकारको सहयोग गर्न तयार रहेको बताए । “नेपालमा राजनीतिक स्थिरता कायम भयो भने त्यसको प्रत्यक्ष फाइदा भारत सरकार र भारतीय जनतालाई समेत पर्दछ, त्यसकारण भारत सरकार नेपालमा राजनीतिक स्थिरता कायम रहोस् भन्ने चाहन्छ, स्थिरता कायम भयो भने आर्थिक उन्नतिको ढोका खुल्छ”उनले भने‘भारतमा अस्थिरता उत्पन्न भयो भने त्यसको प्रभाव नेपालमा पर्छ, नेपालमा अस्थिरता भयो भने त्यसको प्रभाव भारतमा पनि पर्ने भएकाले दुवै देशले राजनीतिक, आर्थिक स्थिरताका लागि मिलेर काम गर्नु पर्छ ।’
दक्षिण एसियाली क्षेत्र बहुआयामिक महत्वको क्षेत्र भएकाले यो क्षेत्रको विकास र उन्नतीका लागि मिलेर काम गर्नुपर्ने तर्क गर्दै उनले हरेक विषयमा खुला र पारदर्शी रूपले छलफल गर्न भारत सरकार तयार रहेको बताए । कार्यक्रममा हरेराम पौडेलद्वारा लिखित अध्यात्ममाला नामक पुस्तकको राजदूत रेले विमोचन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us