

बाजुरा, १४ असोज–बाजुरा जिल्लाका एक साधुले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न लाग्ने धरौटी रकम भिक्षा मागेर सङ्कलन गरी निर्वाचनमा लड्ने तयारी गरेका छन् ।
एक हातमा कमण्डलु, त्रिशूल र अर्को हातमा कछुवाको हड्डी बोकेका र आधा शरीर पहेंलो कपडाले छोपेर उनले सोमबारदेखि सदरमुकाम मार्तडीमा अभियान सुरु गरेका छन् ।
आफूलाई श्री ८ महात्मा शिवभक्त राजभक्त देव गिरी भन्ने ती साधुले आफैंले मात्र रकम धरौटी राख्दा कम मत आउने देखिएकाले जनतासँग धरौटी रकम मागेको बताए । उनले भने,“जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पटकपटक धाएपनि धरौटी रकम कति लाग्ने हो यकिन जानकारी पाएको छैन, जिल्ला न्यायाधीशले तीन हजार रुपैया लाग्ने भनेका छन् ।”
दरबार नजिक भनी चिनाउन चाहने गिरीले सोमबार मात्रै दुई हजार ५०० रुपैया सङ्कलन गरेको बताए । यस अघि उनी स्वतन्त्र उम्मेदवार भई चुनाव लडिसकेका छन् ।