भारतले नेपाललाई तत्काल सैन्य सामग्री उपलब्ध गराउने

काठमाण्डु टुडे २०७० असोज १४ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ४ असोज– भारतले नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री तत्काल उपलब्ध गराउने भएको छ ।
gauravप्रधानसेनापति गौरवशमशेर जबरा र भारतका  स्थल  सेनाध्यक्ष जनरल विक्रम सिंहबीच आइतबार राति नयाँदिल्लीमा भएको भेटवार्तामा भारतीय पक्षले तत्काल सैन्य सामग्री पठाउने प्रतिबद्धता जनाएको हो ।
तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि भारतले नेपाललाई सैन्य सामग्री उपलब्ध गराएको छैन । यस्तै भारतले आसन्न संविधानसभा निर्वाचनका लागि सवारी साधन र अन्य सामग्री उपलब्ध गराउने भएको छ । ‘पाईप लाइनमा रहेका सैनिक सामग्रीहरु नेपाली सेनालाई उपलब्ध गराउन तथा आगामी संविधानसभा निर्वाचनलाई समेत दृष्टिगत गरी आवश्यक पर्ने सवारी साधन लगायतका सामग्री शिघ्र उपलव्ध गराउने विषयमा भारतीय पक्षबाट प्रतिबद्धता व्यक्त भएको थियो’, सैनिक जनसम्पर्क निर्देशनालले सोमबार  जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै विज्ञप्तिमा भारतले नेपाली सेनाका लागि एएलएच हेलिकोप्टर उपलब्ध गराउने विषयमा समेत सकारात्मक छलफल भएको उल्लेख छ ।
यसैबीच प्रधानसेनापति राणा सोमबार पिथौरागढ पुगी त्यहाँ जारी नेपाल–भारत संयुक्त सैन्य अभ्यासको स्थलगत निरीक्षण गरेका छन् । राणाले दुवै देशका फौजबाट संयुक्त रुपमा प्रदशिर्त विपद् व्यवस्थापनसम्बन्धी अभ्यास, बाधापार र सोसम्बन्धी ज्ञान, सीप र प्रविधि प्रदर्शनको अवलोकन गरेका थिए । ‘यस किसिमको संयुक्त अभ्यासबाट विभिन्न विषय, सीप, सिद्धान्त, प्रक्रिया र कार्यविधिको बारेमा ज्ञान हासिल गरी आपसी सहकार्य गर्न सहयोग पुग्ने र सिकेका पाठहरु आपसमा आदान प्रदान गर्न मद्दत पुग्ने विश्वास सैनिक जनसम्पर्क निर्देशनालयको छ ।
भारत बसाईका क्रममा प्रधानसेनापति राणाले रक्षामन्त्री एके एन्टोनी र विदेशसचिव सुजाथा सिंहलगायतसँग समेत भेटघाट गर्नेछन् । राणा भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणका लागि आइतबार नयाँदिल्ली गएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us