श्राद्ध तिथिको अवसरमा छात्रवृत्ति वितरण

काठमाण्डु टुडे २०७० असोज १४ गते १२:०२ मा प्रकाशित

दाङ, १४ असोज – दाङ देउखुरीको एक घिमिरे परिवारले आफ्नो बुवाको श्राद्ध तिथिको अवसरमा अनाथ तथा विपन्न विद्यार्थीलाई सोमबार छात्रवृत्ति वितरण गरेको छ ।

गोवरडिहा गाविस ६ का चेतनाथ शर्मा घिमिरे र उनका चार भाईले आफ्ना आमा-बुवाको नाममा स्थापना गरेको ‘गंगा–सुमित्रा–धनेश्वर अनाथ छात्रवृत्ति कोष’बाट छात्रवृत्ति वितरण गरिएको हो । चेतनाथ शर्मा घिमिरे, शेषमणी शर्मा घिमिरे, पुरुषोत्तम शर्मा घिमिरे, अमर कुमार शर्मा घिमिरे र शरद कुमार शर्मा घिमिरेले सरस्वति उच्च मावि गोबरडिहामा २०६५ सालमा ५० हजार १ रुपैयाँ राशीको अक्षयकोष खडा गरेका थिए । सोही अक्षयकोषको ब्याजबाट २०६६ सालदेखि हरेक बर्ष श्राद्ध तिथिको अवसरमा घिमिरे दाजुभाईले छात्रवृत्ति वितरण गर्दै आएका छन् ।

सरस्वति उच्च मावि गोबरडिहामा सोमबार आयोजित कार्यक्रममा प्राथमिक विद्यालय तहका ४ जनालाई र निम्न माद्यमिक तहका २ जना बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ । प्रावि तहका चारजनालाई जनही १ हजारको दरले र निमावि तहका दुईजनालाई जनही १ हजार २ सय रुपैयाँको दरले छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृति पाउनेमा नमुना प्रावि महदेवाका २ जना, सरस्वती उच्च मावि गोवरडिहाका एकजना, निमावि रङसिङको एकजना, प्रावि बडहाराको एकजना र आदर्श रात्री निमावि गोबरडिहाको एकजना विद्यार्थी छन् ।

गोबरडिहा गाविसका हरेक विद्यालयबाट अनाथ तथा विपन्न छात्रछात्राको विवरण मगाएर ६ जना विद्यार्थीलाई छनौट गरेर छात्रवृत्ति वितरण गर्दै आएको घिमिरे दाजुभाईले जानकारी दिएका छन् ।

चेतनाथ शर्मा घिमिरेको सभापतित्व तथा सरस्वति उच्च माविका सहायक प्राचार्य चेतलाल चौधरीको प्रमुख आतिथ्यमा भएको छात्रवृति वितरण कार्यक्रममा पुरुषोत्तम शर्मा घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन भने खगेश्वर शर्माले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us