फुजेलका रामप्रसाद अधिकारी हिरासत मुक्त

काठमाण्डु टुडे २०७० असोज १४ गते १३:०७ मा प्रकाशित

चितवन, १४ असोज –चितवन, १४ असोज–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपितमध्ये पक्राउ परेका रामप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमुक्त गरेको छ ।
प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा नै नपु¥याई उनलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले २५ दिन अनुसन्धान गरी सरकारी वकिल समक्ष प्रतिवेदन पेस गरेको थियो । उनलाई सोमबार सरकारी वकिलको निर्देशनमा हाजिरी जमानतमा रिहा गरिएको हो ।
प्रहरीले पेस गरेको प्रतिवेदनमा पक्राउ परेका एकजना आरोपितलाई ६ महिनादेखि तीन वर्षसम्म कैद सजाय माग गरिएको थियो भने पक्राउ पर्न नसकेका अन्य १० जनाको हकमा जन्म कैददेखि सर्बस्वसहित जन्म कैदसम्मको सजाय माग गरिएका थियो । घटनामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा ११ जनाबिरुद्ध उजुरी परे पनि एकजना आरोपित रामप्रसाद अधिकारी मात्रै पक्राउ परेका थिए । अधिकारी गत भदौ २१ गते काठमाडौँबाट पक्राउ परेका थिए । अन्य १० जनाको खोजी कार्य जारी नै रहेको प्रहरीले जनाएको छ ।
adkikari

मुद्दामा किटानी जाहेरी परे पनि हालसम्म नसमातिएका व्यक्तिमा रामप्रसाद अधिकारी नै नाम गरेका गोरखाका एकजना पनि छन् । त्यस्तै गोरखाका छविलाल पौडेल, मेघनाथ पौडेल, विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, भीमसेन पौडेल र चितवन भरतपुरका अजिव भन्ने पर्शुराम पौडेल रहेका छन् ।
तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको दसवर्षे जनयुद्धका क्रममा पूर्वी चितवनको रत्ननगरमा २०६१ साल जेठ २४ गते कृष्णको हत्या भएको थियो । हत्या लगत्तै दोषीमाथि कारबाही गरी पाऊँ भनी कृष्णका बुबा नन्दप्रसाद अधिकारीले प्रहरीमा उजुरी दिएका थिए । बाबु नन्दप्रसाद र आमा गंगामाया घटनामा संलग्नलाई कारबाही माग गर्दे ४७ दिन आमरण अनशन बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us