
काठमाण्डु, १४ असोज –पत्रकार दिनेश आचार्य विद्युतीय कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
शेयर बजार साप्ताकिमा छापिएको समाचार सामाजिक सञ्चाल फेसबुकमा शेयर गरेको आरोपमा आचार्य पक्राउ परेका छन् । आचार्य शेयर बजार साप्ताहिकका सम्पादक हुन् । आफ्नो व्यक्तिगत जीवनका बारेमा पत्रिकामा छापिएको समाचार फेसबुकमा सेयर गरेकाले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको माग गर्गै उद्योगपति विनोद चौधरीपुत्र निर्वाणले आचार्यविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
उनीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी महाशाखा काठमाण्डुले जनाएको छ । विद्युतीय कारोबार ऐनविपरीत काम गर्नेलाई पाँच वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था कानुनमा छ ।
यसैबीच प्रेस काउन्सिल नेपालले समाचार शेयर गरेकै आधारमा प्रहरीले पत्रकार पक्राउ गरेकामा आपत्ति जनाएको छ । काउन्सिल सदस्य खिलबहादुर भण्डारीले पत्रकार आचार्यलाई तत्काल रिहा गर्न माग गर्नुभयो । ‘पत्रकारले आचार संहिता उल्लंघन गर्दा छानबिन र कारबाही गर्ने निकाय प्रहरी होइन, प्रेस काउन्सिल हो’, भण्डारीले काठमाण्डु टुडेसँग भने, ‘उनलाई तत्काल छाड्न काउन्सिल सरकारसँग माग गर्दछ ।’
उनले आचार्यको गिरफ्तारीलाई प्रेस तथा अभिवयक्ति स्वतन्त्रता हननका रुपमा लिइएको बताए ।