काँग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी

काठमाण्डु टुडे २०७० असोज १४ गते १७:०६ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, १४ असोज । प्रत्यक्षतर्फको उम्मेदवार छनौटप्रति असन्तुष्टी जनाउँदै काँग्रेस नेता कार्यकर्ताहरुले केन्द्रीय कार्यालय सानेपामा सोमबार नाराबाजी सहित प्रदर्शन गरेका छन् । धनुषाको क्षेत्र नम्बर ५ को उम्मेदवार छनौटमा असन्तुष्ट पक्षले नाराबाजी गरेको हो ।

क्षेत्रीय समितिको सिफारिसलाई लत्याएर राष्ट्रपति डा. रामवरण यादवको छोरा चन्द्रमोहनलाई उम्मेदवार बनाइएको असन्तुष्ट पक्षको आरोप छ । क्षेत्रिय समितिले धनुषा क्षेत्रनम्बर ५ बाट महेन्द्र यादव, कुमार कान्त झा र योगेन्द्र पन्जियारलाई सिफारिस गरेको थियो । तर, चन्द्र मोहनले आफू सिफारिसमा नपरेको भन्दै गत भदौ १९ गते जिल्ला पार्टी कार्यालय अगाडी विरोध प्रदर्शन गरेका थिए ।

‘राष्ट्रपतिको प्रत्यक्ष हस्तक्षेपले क्षेत्रीय समितिको सिफारिस विपरित चन्द्रमोहनलाई उम्मेदवार बनाउन लागिएको छ,’ असन्तुष्ट नेता कुमारकान्त झाले सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकारसँग कुरा गर्दै भने, ‘यो हामीलाई स्वीकार्य छैन ।’

उम्मेदवार छनौटप्रति असन्तुष्टी जनाउँदै आएको समूहले गरेको विरोध प्रदर्शनका कारण काँग्रेसको नियमित पत्रकार सम्मेलन स्थगीत भएको छ । काँग्रेसले सोमबार प्रत्यक्षतर्फका सबै उम्मेदवार टुंगो लगाउने बताए पनि असन्तुष्ट पक्षको विरोध प्रदर्शनका कारण उम्मेदवार छनौटको काम लम्बिएको छ ।

स्याङजा पार्टी कार्यालयमा तालावन्दी

यसैबीच काँग्रेस स्याङजा क्षेत्र नम्बर १ बाट सिफारिस भएका युवा नेता राजु थापालाई पार्टीले टिकट नदिने तयारी गरेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । सिफारिसमा परेकालाई बेवास्ता गरी सिफारिसमा नपरेको व्यक्तिलाई टिकट दिन लागिएको विरोधमा कार्यालयमा ताला लगाएको नेवि संघका गोविन्द मरासिनीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us