
जनकपुरधाम– तराई मधेसका गाउँमा खासगरी थारु महिलाले अन्न भण्डारका लागि बनाउने माटाका कोठी (भकारी) लोप हुने सङ्घारमा पुगेका छन् ।
परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान हुने भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउनुपर्ने संस्कृतिविद् बताउँछन् । माटोको कोठीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित हुने भएकाले स्वच्छ र स्वस्थ खानेकुराको रक्षाका लागि कोठी अहिले पनि अनिवार्य देखिएको छ । धान, चामल, गहुँ, दाललगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी उपयुक्त हुने अब गाउँघरमा देखिन छाडेका छन् ।
अन्नपात भण्डारणका लागि घर घरमै बनाइने गरिएका माटाका कोठीका ठाउँमा अब कर्कटपाता तथा प्लास्टिकका डोल, बाल्टिन र अन्य भाँडाको प्रयोग बढेपछि कोठी निर्माण हुन छाडेको हो । व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल घट्दै आएपछि घरमा भित्रिने फसलको मात्रासमेत कम भएर कोठी बन्न छाडेको ग्रामीण किसान बताउँछन् ।
अब उत्पादित फसल प्लास्टिकका भाँडामै अटाउने भएपछि कोठी बन्ने र बनाउने क्रम सिद्धिएको लहान–९ का किसान सञ्जय साहकोे भनाइ छ । मिथिला क्षेत्रमा खासगरी थारु महिलामा कलाकौशलको हिसाबले समेत माटाको कोठी निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले हुन छाडेको थारु कलासंस्कृतिका जानकार ज्वालाप्रसाद चौधरीले बताए ।
मिथिला क्षेत्रका थारुबस्तीमा माटाका कोठी बनाउने सीप वैवाहिक सम्बन्धका लागि कन्याको विशेष योग्यताकै रुपमा हेरिने गरेको विगत सम्झँदै संस्कृतिविद् चौधरीले पछिल्लो पुस्ताका थारु युवतीले कोठी निर्माणमा रुचि नदेखाएपछि अब नयाँ कोठी बन्न छाडेको जानकारी दिए । लेसिलो माटामा भुस मिसाएर त्यसलाई मुछ्दै महिनौँ लगाएर बनाइने माटाका कोठी अब देख्न छाडिएको छ ।
एक दशकअघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आआफ्ना घरमा बनाउने कोठीको विगतमा कला प्रदर्शनीसमेत हुने गरेको बूढापाका बताउँछन् । कसले कस्तो कोठी बनाउँदैछन्, त्यो हेर्न भिडभाड नै लाग्ने गरेको विगत सम्झँदै बदैया– ४ का समाजसेवी ६५ वर्षीय रामलाल चौधरीले बताए ।
विगतमा मुलुकको तराई क्षेत्रमा थारु महिलाकै सामिप्यताले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिकेको यस क्षेत्रका बूढापाका बताउँछन् । खासगरी हिउँदमा कोठी बनाउने कामको लहर नै देखिने गरेको विगत सम्झँदै कमलपुर–३ थारुटोलकी वृद्धा भिखनी थरुनीले नयाँ पुस्तामा त्यस्तो रौस र रहर नदेख्दा अब पुराना रीतिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता लागेको बताइन ।
विगतमा तराईमा बिघौँबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निक्कै गहुँ, चना, रहरलगायत फसल हुने र चामल पनि निकै थन्क्याउनुपर्ने भएकाले त्यतिबेला घुनपुतलीबाट खाद्यान्न जोगाउन कोठी बनाउने चलन रहेको बुझिन्छ । पछिल्ला वर्षमा जग्गाको स्वामित्व घट्दै गएपछि कोठीको आवश्यकता महसुस हुन छाडेको लहान–१० का रामअवतार राम बताउछन ।
माटोका कोठीमा राखिएका फसल वर्षौंवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रिने र स्वस्थ्यकर हुने पाका स्वास्थ्यकर्मी मोहन चौधरीको भनाइ छ । उहाँले पछिल्ला दिनमा माटाका कोठीको निर्माण हुन छाडेपछि फसल घुनबाट बचाउन विषादीको प्रयोग हुन थालेको र त्यसको असरले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दै गएकामा चिन्ता व्यक्त गरे । रासस