
ललितपुर, १४ असोज–न्याय सम्पादन र अपराध अनुसन्धानको काममा सघाउन स्थापित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा अनुसन्धान तथा परीक्षण गर्नुपर्ने चीज वस्तुको आवश्यक मात्रा र परिमाणमा प्राप्त नहुँदा निर्णय दिन कठिनाइ पर्ने गरिएको छ ।
अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन्यजन्तु संरक्षण विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग, बैंक, अस्पतालले प्रयोगशालामा परीक्षणका लागि पठाउने चीज वस्तुको नमुनाको मात्रा र परिणाम नमिलाई पठाउँदा निर्णयमा पुग्न गाह्रो पर्ने गरेको विशेषज्ञ वैज्ञानिक विनुशोभा तुलाधरले बताइन ।
“पटक–पटक परीक्षण गरिने चीज वस्तुको मात्रा र परिमाणबारे जानकारी गराउँछौँ, नमुना पठाउने निकायमा नयाँ कर्मचारी आउँदा फेरि आवश्यक मात्रा र परिमाण मिलाउन जान्दैनन् । फर्काएर पठायो फेरि उस्तै आउँछ, नतिजा निकाल्नै कठिनाइ पर्छ” तुलाधर भनिन ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अनुसार आव २०६८÷०६९ मा प्राप्त भएका २७२ नमुनामा ३५ वटा नमुनाको राय दिन नसकी थमौतीमा परेका थिए । जसमा ८० ल्याप्चेमा आठ बाँकी, दस्तखत ५० मा छ, हस्ताक्षर र दस्तखत १४ मा चार, लिफा २६ मा नौ, ल्याप्चे र दस्तखत ८२ मा सात, सच्याइएको लिखत १५ मा दुई र ल्याप्चे एवम् लिफा ५ मा दुई नमुना मात्रा र परिणाम नमिलेकै कारण अनिर्णित बनेका थिए ।
आव २०६९÷०७० भर विषसेवन ३२४ मा आठ नमुना पेन्डिङ परे भने १९२ वटा रगत तथा वीर्य जाँचमा १६, दुई हजार ४२४ चेक दस्तखत तथा ल्याप्चे नमुनामा एक हजार ५०० काम पेन्डिङ तथा अनिर्णयको बन्दी बनेका छन् । असार मसान्तसम्ममा प्राप्त रासायनिक लागुऔषधका ७९२ नमुना उचित मात्रामा प्राप्त भएकाले सबैको नतिजा सतप्रतिशत पुगेको छ ।
समयमा निर्णय दिन सक्ने बनाउन सरोकारवालाले अनुसन्धान तथा परीक्षण गर्नुपर्ने चीज वस्तुको आवश्यक मात्रा वा परिमाणमा पठाउन सक्ने बनाउनसँगै नवीनतम् प्रविधिका उपकरणको अभाव र प्रयाप्त भौतिक संरचना तयार पार्न सकिने स्थानको पनि अभाव भएको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको प्रयोगशाला एकाइको रुपमा काम गर्दै आएकोमा २०५२ सालमा कानुन तथा न्याय मन्त्रालयको अदालती मुद्दाका प्रलेख परीक्षण गर्न स्थापित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ २०५७ सालमा विज्ञान तथा प्रविधि मन्त्रालय स्थापनासँगै मन्त्रालयअन्तर्गत स्वायत्त निकायको रुपमा काम गर्दै आएको छ ।
साधनस्रोतको कमी भए पनि प्रयोगशालाले रासायनिक वस्तु, विभिन्न किसिमका लिखित कागज, चेक दस्तखत, छाप तथा ल्याप्चेजस्ता प्रलेखको एक मात्र आधिकारिक वैज्ञानिक परीक्षण हुने प्रयोगशाला हो ।
प्रहरी प्रधान कार्यालयले आफ्नो दायराको अपराध अनुसन्धान गर्न दुई वर्षअघि छुट्टै प्रयोगशालामा काम गर्न थालेपछि यहाँ कामको बोझ केही घटेको छ । रासस