ख्रिस्टियन समुदायद्वारा धार्मिक ऐन माग

काठमाण्डु टुडे २०७० असोज १४ गते ७:५२ मा प्रकाशित

काठमाण्डु १४ असोज–ख्रिस्टियन समुदायले छुट्टै धार्मिक ऐनको माग गरेको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालय, ख्रिस्टियन समुदायको अवस्था एवम् समाधिस्थल व्यवस्थापनसम्बन्धी अध्ययन गर्न गठित कार्यदलद्वारा आइतबार आयोजित अन्तक्र्रियामा ख्रिष्टियनको मृत्युपछि शव गाड्नका लागि जमिनको व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरे ।
राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष डा सुन्दर थापाले नेपालभर रहेका ख्रिस्टियन समुदायको पवित्र धार्मिकस्थल र मण्डली (चर्च) लाई ख्रिस्टियन गुठीको मान्यता र  समुदायको धार्मिक अधिकारको सुनिश्चितता एवम् उत्थान र विकासका लागि राष्ट्रिय ख्रिस्टियन आयोग गठन गर्नुपर्ने बताए ।
मन्त्रालयका उपसचिव तथा कार्यदलका सचिव देवराज ढकालले कार्यदलले प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएपछि पनि कार्यान्वयनका लागि पहल गरिने बताए । ख्रिस्टियन समुदायका अगुवा केदार खड्का, किरण कार्कीलगायतले राज्यका सबै निकायमा समुदायको समानुपातिक प्रतिनिधित्वका साथै राज्यकोषबाट विनियोजन हुने बजेटका लागि समेत व्यवस्था गर्नुपर्ने माग गरे ।
कार्यदलका संयोजक पूर्वसभासद् विनोद पहाडीले कार्यदलले समाधिस्थल व्यवस्थापन तथा धम निरपेक्षताको व्यावहारिक कार्यान्वयनका सम्बन्धमा स्थलगत भ्रमण, सरोकार भएकाहरुसँग छलफल तथा अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरिरहेको र छिट्टै प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए । सो समुदायको सामाजिक, आर्थिक, सांस्कृति, धार्मिक पक्षको विस्तृत अध्ययन गरी त्यसको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले विसं २०६९ फागुन ११ गते मन्त्रिस्तरीय बैठकबाट पूर्वसभासद्  विनोद पहाडीको संयोजकत्वमा १६ सदस्यीय कार्यदल गठन गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us