सोलुखुम्बु, १४ असोज – मनाङको हिम्लुङ आरोहणको क्रममा तीनजना नेपालीको मृत्यु भएको छ । गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावैजुके निवासी पासाङ शेर्पा तथा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको हिउँपहिरोमा परी मृत्यु भएको हो ।
मृतकहरूको शव लिन हिम्लुङ हिमालको आधार शिविर पुगेको माउन्टेन हेलिकोप्टर मौसम खराबीका कारण फर्कन सकेको छैन । मृतकहरूको शव हिम्लुङ हिमालको क्याम्प १ मा रहेको दातेन्जी शेर्पाले जानकारी दिए । उनीहरुको आइतबार बिहान हिउँपहिरोमा परी मृत्यु भएको थियो ।