नेकपा– माओवादी निर्वाचनमा आउने प्रचण्डको दाबी

काठमाण्डु टुडे २०७० असोज १३ गते ९:३९ मा प्रकाशित

विराटनगर, १३ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि निर्वाचनमा सहभागी हुने दाबी गरेका छन् ।
prachandaपार्टी कामका सिलसिलामा पूर्वाञ्चल आएका उनले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वैद्य माओवादी ४ मंसिरकै निर्वाचनमा आउने दाबी गरेका हुन् । प्रचण्ड र वैद्यबीच शनिबार राति बानेश्वरस्थित एकीकृत माओवादीका एक राज्य समिति सदस्यको डेरामा गोप्य भेटवार्ता भएको थियो ।

वैद्य माओवादी निर्वाचनका लागि सकारात्मक देखिएको र उसलाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास जारी राख्ने उनको भनाइ थियो । ‘वैद्यजीहरु पनि निर्वाचनमा आउनेमा मलाई विश्वास छ’, प्रचण्डले भने, ‘ वैद्यजीहरुको समेत सहमतिमा मंसिर ४ मै निर्वाचन हुनेमा शंका नगर्दा हुन्छ ।’ उनले निर्वाचनमा सहकार्य गर्नेबारे दुई पार्टीबीच कुराकानी भइरहेको खुलासासमेत गरे ।

अर्को एक फरक प्रसंगमा प्रचण्डले विदेशीहरुको निर्देशनमा नभई नेपालीहरुको आफ्नै निर्णयका आधारमा दोस्रो संविधानसभा निर्वाचन हुन लागेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us