सह–प्राध्यापक हत्यामा सरकारी कर्मचारी संलग्न

काठमाण्डु टुडे २०७० असोज १३ गते १०:३० मा प्रकाशित

धनुषा, १३ असोज– धनुषाको जनक हजारी सँस्कृत विद्यापीठका सह–प्राध्यापक सत्यनारायण गडेरीको हत्यामा सरकारी कर्मचारीकै संलग्नता रहेको खुलासा भएको छ ।
गडेरी हत्यामा मुख्य योजनाकार नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका प्रशासकीय अधिकृत लक्ष्मेश्वर राउत रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले राउतसहित ललन पासवान र नन्दकुमार पासवानलाई पक्रेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी तीनै जनालाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गोविन्द पुरीले धनुषा बहुअर्वा–६ का ३२ वर्षीय राउत हत्याका मुख्य योजनाकार रहेको जानकारी दिए । प्रहरीका अनुसार राउतले धनुषाकै देबडिहा–३ का पासवानद्वयलाई जनही साढे १८ हजार रुपैयाँ दिएर गडेरीको हत्या गर्न लगाएका थिए । जग्गा कारोबारमा भागबण्डा नमिलेपछि गडेरीको हत्या गराएको राउतले प्रहरीसमक्ष बयान दिएका छन् । राउतलाई शनिबार काठमाडौंको टेकुबाट र अन्य दुई जनालाई आइतबार बिहान जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिराहाको अर्नामा घर भई जनकपुर–८ बस्दै आएका नेपाली विषयका सहप्राध्यापक गडेरीको शब शुक्रबार कुर्था–६ स्थित इटाभट्टानजिकै फेला परेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us