एमाओवादी शीर्ष नेताको निर्वाचन क्षेत्र निर्धारण (सूचीसहित)

काठमाण्डु टुडे २०७० असोज १३ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १३ असोज – एकीकृत नेकपा माओवादीले शीर्ष नेतासहित हमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारको आइतबार टुंगो लगाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बसेको उम्मेदवार छनौट समिति र केन्द्रीय कार्यालयको संयुक्त बैठकले सेती–महाकाली, भेरी कर्णाली र हिमाली जिल्लाका उम्मेदवार तथा उनीहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको हो ।

त्यस्तै तीन शीर्ष नेताहरुको पनि निर्वाचन क्षेत्र टुंगो लागेको छ । अध्यक्ष प्रचण्ड काठमाण्डु क्षेत्र नम्बर–१० र सिराहा क्षेत्र नम्बर–५ बाट उठ्ने एकीकृत माओवादीले जनाएको छ । यस्तै डा. बाबुराम भट्टराई गोर्खा– १ र रुपन्देही–४ तथा पोष्टबहादुर बोगटी नुवाकोट–३ बाट उठ्ने टुंगो लागेको छ । अर्का नेता नारायणकाजी श्रेष्ठको भने निर्वाचन क्षेत्र टुंगो लागेको छैन । गोरखा–२ बाट उठ्ने इच्छा राखेका श्रेष्ठलाई अर्का नेता भट्टराईले रोकेका छन् । स्रोतका अनुसार भट्टराई श्रेष्ठको सट्टा केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेलाई छाड्न राजी देखिएका छन् ।

उनले गत संविधानसभा निर्वाचनमा गोरखा–२ बाट सर्वाधिक मतका साथ जितेका थिए । गोरखा–२ मा नपाउने भएपछि श्रेष्ठले मकवानपुर–२ वा चितवन–५ मा उठ्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ । माओवादीले अछाम–१ बाट दीपक साउद, अछाम–२ बाट झंकर रावल, बैतडी–१ बाट नरेन्द्र कुंवर र २ बाट रेणु चन्द, बझाङ–१ बाट देवराज रेग्मी र २ बाट हरि कुंवर, दार्चुलाबाट ललितसिंह ठगुन्ना, डडेल्धुराबाट खगराज भट्ट, बाजुराबाट सहदेव बोगटी, डोटी–१ बाट मोहन बम, २ बाट  लेखराज भट्ट, सुर्खेत–१ बाट ठम्मर विष्ट, २ बाट भीमबहादुर मल्ल, ३ बाट नरबहादुर विष्ट, दैलेख–१ बाट तेजबहादुर चन्द, २ बाट थीरबहादुर चन्द, जाजरकोट–२ बाट शक्ति बस्नेत, २ बाट भक्तबहादुर शाह, डोल्पाबाट सत्या पहाडी, जुम्लाबाट गजेन्द्रबहादुर महतलाई उम्मेद्वार बनाउने भएको छ ।

यस्तै कालिकोटाबाट पूर्वलडाकुका डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही, मुगुबाट सुकवीर बुढा, हुम्लाबाट छिरिङ डम्दुल लामा, मनाङबाट कपिल लामा, खसुंवासभा–१ बाट इन्द्रहाङ राई, २ बाट राजेन्द्र किरांती, भोजपुर–१ बाट खेमराज नेपाली, २ बाट सुदन राई, खोटाङ–१ बाट दुर्गाजयन्ती राई, २ बाट देवान राई, सोलुखुम्बुबाट गोम्बु शेर्पा, ताप्लेजुङ–१ बाट सञ्चपाल मादेन, २ बाट टंक आङबुहाङ र तेह्रथुमबाट दुर्गाप्रसाद चापागाईंलाई एमाओवादीले प्रत्यक्षतर्फको उम्मेदवार तोकेको छ । बाँकी उम्मेदवारको टुंगो एक/दुई दिनभित्र लगाइने उम्मेदवार छनौट समितिका संयोजक पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us