
काठमाण्डु १३ असोज–पछिल्ला दिनमा मुटु रोग महिलाको ज्यान जाने मुख्य कारण बनेको छ । मुटुरोगका कारण हरेक ३ जनामा १ जना महिलाको ज्यान जाने गरेको छ ।
आमाको गर्भमै रहँदा बालबालिकामा मुटु रोगको जोखिम हुने तथा जन्मिसकेपछिको खानपानले पनि मुटु सम्बन्धि समस्या देखिने गरेको छ । महिला र बालबालिकालाई मुटुको विशेष ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोगका कारण विश्वभर वर्षेनी १ करोड ७३ लाख जनाले ज्यान गुमाउने गरेका छन् । यो संख्या सन् २०३० सम्ममा बढेर वार्षिक २ करोड ३० लाख पुग्ने अनुमान छ ।
शहरीया जीवनशैली बढ्दै जाँदा आवश्यकता भन्दा बढी खानु, शारीरिक परिश्रम नगर्नु, अस्वस्थ खाना, उच्च रक्तचाप, कोलेष्ट्रोल र शरीरमा ग्लुकोजको मात्रा बढ्नु मुटु रोग हुने मुख्य कारण देखिएका छ्न् ।
विश्व मुटु फाउन्डेसनले सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार र शारीरिक निष्क्रियतामाथि नियन्त्रण गरेर मुटुरोग र हृदयाघातका कारण असमयमै हुने ८० प्रतिशत मृत्युलाई कम गर्न सकिने बताएको छ ।
विश्व स्वास्थ्य संगठन र विश्व हर्ट फाउन्डेसनको आव्हानमा सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने गरिएको छ । फाउन्डेशनले यो वर्ष दिवसलाई बालबालिका र महिलाको स्वस्थ मुटुमा केन्द्रित गरेको छ । बालबालिका स्वस्थ भए स्वस्थ युवा पुस्ताको निर्माण हुने र परिवार तथा समाज स्वस्थ रहन मद्धत पुग्ने फाउन्डेशनको ठहर छ ।
‘स्वस्थ मुटुको बाटो अपनाऔं’ भन्ने नाराका साथ आइतवार नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व मुटु दिवस मनाईदैछ ।