‘टिकट अनुगमन गर्ने सरकारले बाटो देखेन’

काठमाण्डु टुडे २०७० असोज १३ गते ६:३५ मा प्रकाशित

Saroj-Sitoula-Finalकाठमाण्डु, १३ असोज – दशैंको बेला छ । काठमाण्डुमा बसोबास गर्नेहरु आफ्नो गाउँघर फर्किन बसको टिकट काट्ने चटारोमा छन् । नयाँबसपार्क, कलंकी, गौशाला, सुन्धारा, कोटेश्वर लगायत स्थानमा अग्रिम टिकट बुकिङ खुलेका छन् । तर, यात्रुहरुले सजिलै टिकट नपाएको गुनासो गरिरहेका छन् ।

दाङ देउखुरी सुन्डबरीका हेमराज आचार्यले दाङ जाने टिकट नपाएर नेपालगन्जको टिकट काट्नु परेको गुनासो गरे । ‘टिकट काट्न बसपार्क गाको सबै बुकिङ भैसकेछ,’ उनले भने, ‘दाङको टिकट नपाएर नेपालगन्जको टिकट लिएँ ।’ त्यसकालागि उनले ३ सय रुपैयाँ भन्दा बढी थप पैसा तिर्नुपर्यो ।

झापा विर्तामोडका बलराम पोख्रेलको गुनासो पनि उस्तै छ । श्रीमती र एक छोरालाई लिएर उनी यसपालीको दशैंमा घर जान चाहान्छन् । तर, बसको टिकट अझै पाएका छैनन् । ‘घर त जाने भनेको तर, टिकटको अझै ठेगान छैन,’ उनले भने, ‘अहिले बुकिङ सकिए पनि पछि एक्स्ट्रा गाडी थप्ला नी, त्यसैमा जानुपर्ला ।’

दाङ तुलसीपुरका रामकृष्ण शर्माले बसको टिकट नपाएकाले साथीभाई मिलेर एउटा माइक्रो बस रिजर्भ गरेर जाने सोंच बनाएका छन् । ‘१५–१६ जना साथीहरु मिलेर माइक्रो रिजर्भ गरेर जाने प्लान छ,’ उनले भने, ‘के गर्नु, टिकट पाइएन ।’

बस टिकट नपाउनेहरु धेरै छन् । नयाँबसपार्कमा टिकट नपाएर अलपत्र परेकाहरु ‘अग्रिम बुकिङ खोल्ने तर, टिकट दिन नसक्ने ?’ भन्दै गुनासो पोखिरहेका भेटिन्छन् । तर, यात्रुहरुले भनेजस्तो टिकट नै नपाएको अवस्था भने नरहेको यातायात व्यवसायीको दावी छ । ‘अग्रीम बुकिङ भैरहेको छ । ८० प्रतिशतले टिकट पाइसके । टिकट नै सकिएको भन्ने कुरा सहि होइन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय कोषाध्यक्ष सरोज सिटौला भन्छन्, ‘सबैलाई ३–४ नम्बरका सीट चाहिन्छ, पछाडी बस्न कोही मान्दैन ।’

सडकको नाजुक अवस्था र बन्द हड्तालको त्रासको बीचमा पनि यातायात व्यवसायीहरुले सेवा दिइरहेको उनको भनाई छ । काठमाण्डुबाट बाहिरिने नाका नागढुङ्गा–नौबिसे सडक बिग्रिएर घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । त्यहाँबाट एकतर्फी बाटो सन्चालन हुँदै आएको लामो समय भैसक्यो । तर, मर्मत गरिएको छैन । यस्ता विग्रिएका सडकले पनि गाडी चालक र यात्रुले सास्ती व्यवहोर्दै आएका छन् ।

सिटौलाले बिग्रिएका बाटो छिटो मर्मत गर्न सरकारलाई आग्रह गरे । ‘सडकहरु बिग्रिएर खत्तम छन् । खाल्डा खुल्डीमा परेर गाडीको पट्टा भाँचिन्छ । बीचबाटोमा गाडी बिग्रिएपछि बाटो जाम भएर हजारौं यात्रुले दुःख पाउँछन्,’ महासंघका कोषाध्यक्ष सिटौलाले भने, ‘एकदमै जोखिम मोलेर हामीले सेवा दिइरहेका छौं । टिकट काउन्टरमा मात्र अनुगमन गर्ने सरकारले बाटो मर्मतमा पनि ध्यान देओस् ।’ बाटो निर्माणको ठेक्का लिनेहरुले गुणस्तरीय बाटो बनाउँदैछन् की छैनन् भन्नेतर्फ सरकारले अनुगमन गर्नुपर्ने उनको भनाई थियो ।

दशैंकोबेला यात्रुहरुको चाप बढिरहेको छ । त्यसलगत्तै कोरीयाली भाषा परीक्षा पनि आउँदै छ । दोस्रो संविधानसभा चुनाव पनि नजिकिएकाले यसपाली यात्रुहरुको चाप बढेको छ । बाटोको दुरावस्था र यात्रुहरुको बढ्दो चापले यातायात व्यवस्थापनमा चुनौति थपिएको सिटौलाले बताए । ‘सहज र सुरक्षित यात्राकोलागि हामी सक्दो प्रयास गरिरहेका छौं,’ उनले भने, ‘यसमा सबैको रचनात्मक सहयोग र साथ चाहिएको छ ।’ उनले बन्द हड्ताल जस्ता कार्यक्रम नगर्न पनि सबैपक्षलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us