
न्युयोर्क–भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले नेपालको आसन्न संविधानसभाको दोस्रो निर्वाचन तोकिएकै मितिमा हुनु पर्नेमा जोड दिएका छन ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग शनिवार राती न्युयोर्कमा भएको भेटमा डा सिंहले चुनावले लोकतन्त्रलाई संस्थागत गर्ने, स्थायित्व कायम हुने र यसले मुलुकलाई समृद्धितिर लैजान सक्ने बताउँदै निर्धारित मितिमै निर्वाचन गरी अघि बढन सुझाव दिएका हुन ।
नेपालको निर्वाचनका लागि भारत सरकारको पूर्ण समर्थन रहने र चुनावका लागि आवश्यक पर्ने सहयोगका लागि पनि आफ्नो मुलुक सदा तत्पर डा सिंहले रेग्मीलाई बताएका छन । अध्यक्ष रेग्मीले निष्पक्ष र भयरहित चुनाव सम्पन्न गर्नकै लागि आफ्नो नेतृत्वमा सरकार गठन भएको स्मरण गराउँदै आफूले यस जिम्मेवारीलाई अत्यन्त गम्भीरतापूर्वक लिई तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकार कटिबद्धताका साथ लागेको जानकारीे गराएको उनको स्वकीय सचिवालयले जनाएको छट । सचिवालयका अनुसार निर्वाचनका निम्ति भारत सरकारले देखाएको सहयोगको वचनबद्धताप्रति अध्यक्ष रेग्मीले धन्यवाद दिएका थिए ।
अध्यक्ष रेग्मीले संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुन र अमेरिकामा रहेका नेपालीहरुसँग भेटवार्ता गरेका छन ।