माओवादीले पठायो राष्ट्रसंघ मुख्यालयमा पत्र

काठमाण्डु टुडे २०७० असोज १२ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, १२ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आसन्न संविधानसभा निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको हो  ।
baidhyaसंयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले राष्ट्रसंघीय महासचिव वान कि मुनलाई भेट्नुभन्दा केही अघण्टाअघि वैद्य माओवादीले राष्ट्रसंघमा पत्राचार गरेको हो । माओवादी विदेश विभाग प्रमुख सिपी गजुरेलले नेपालका लागि राष्ट्रसंघीय आवासीय समन्वयकर्ता जेमी म्याकगोड्रिक मार्फत राष्ट्रसंघ मुख्यालयमा पत्र पठाएका हुन् । गजुरेलले ललितपुरको पाटनढोकास्थित कनकमणि दीक्षितको ‘ढोकैमा क्याफे’मा भेटेर शनिबार साँझ जेमीलाई पत्र बुझाएका थिए । भेटमा माओवादीबाट अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङ पनि सहभागी थिए ।

सचिव गुरुङले सेना परिचालनको निर्णयमा हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गर्दै राष्ट्रसंघीय महासचिव वान कि मुनलाई पत्र पठाइएको जानकारी काठमाण्डु टुडेलाई दिए । सेना परिचालन जारी शान्तिप्रक्रियाको भावना विपरीत भएको व्यवहोरा पत्रमा उल्लेख गरिएको गुरुङले बताए । उनका अनुसार नेपालमा जारी शान्तिप्रक्रिया भाँड्ने उद्देश्यका साथ सेना परिचालन गर्न लागिएकाले हस्तक्षेप गर्न राष्ट्रसंघलाई अपिल गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामवरण यादवले केही दिनअघि सेना परिचालनसम्बन्धी बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत गरेका थिए । वैद्य माओवादीले सेना परिचालन गरेर मुख्य चार दल र सरकारले मुलुकमा गंजी शासनको अभ्यास गर्न खोजेको भन्दै आपत्ति जनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us