भोलिसम्ममा उम्मेदवार टुंगो लाग्ने एमाओवादी दाबी

काठमाण्डु टुडे २०७० असोज १२ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, १२ असोज– एकीकृत माओवादीले आइतबारसम्ममा संविधानसभा निर्वाचनको उम्मेदवारको टुंगो लगाउने भएको छ ।
agni sapkotaपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले  आइतबारसम्ममा ७५ प्रतिशत उम्मेदवार घोषणा गर्ने जानकारी दिए । शनिबार दिनभर आन्तरिक छलफल गर्ने र आइतबार बिहान केन्द्रीय कार्यालय बैठक बसी उम्मेदवार टुंगो लगाउने उनले बताए ।
उनले उम्मेदवार छनौटको ७५ प्रतिशत काम सकिए पनि पार्टी प्रवेशको लहर नरोकिएकाले  उनीहरुलाई पनि उम्मेदवारमा ठाउँ दिनुपर्ने भएकाले केही ढिला भएको दाबी गरे । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराई दुई ठाउँबाट उठ्ने निश्चित भएपनि अरुको टुङ्गो लागिनसकेको स्पष्ट गरे ।

अर्को एक प्रसंगमा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई निर्वाचनमा ल्याउन एकीकृत माओवादीले सक्दो प्रयास गरे पनि अब ढिलाइ भइसकेको उल्लेख गरे । उनले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन नसर्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us