फुजेल घटनामा थप १० जना पक्रने योजना

काठमाण्डु टुडे २०७० असोज १२ गते ४:५३ मा प्रकाशित

चितवन १२ असोज–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा ११ फुजेलका १० जना र चितवनका एक जनालाई चितवन प्रहरीले मुद्दा दर्ता गर्न लागेको छ । सरकारी वकिलको कार्यालयले आइतवार हत्याको आरोपमा उनीहरु बिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दाको मिसिल शुक्रवार नै बुझाइ सकेको छ ।
स्रोतका अनुसार प्रहरीले गोरखाका सीता अधिकारी,कालीप्रसाद अधिकारी,हिमलाल अधिकारी,सुभद्रा अधिकारी,रामप्रसाद अधिकारी (ख),छविलाल पौडेल,मेघनाथ पौडेल,भीमसेन पौडेल,बिष्णु तिवारी र चितवनका परशुराम पौडेललाई मुद्दा दर्ता गराउने मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । भदौ २१ गते काठमाण्डुमा पक्राउ गरिएका रामप्रसाद अधिकारीलाई तीन पटक जिल्ला अदालत चितवनमा पेश गरी २५ दिनको म्याद थपेर थुनामा राखिएको छ ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी ०६१ जेठ २४ गते बहुलहरचोकमा तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको भन्दै उनका दाजु नुरप्रसाद अधिकारील्े ०६२ को मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा ११ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए । ‘अनुसन्धानको म्याद असोज १४ गतेसम्म रहेकोले सरकारी वकिलले उक्त मितिसम्म आरोपित बिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानुनी प्रावधान छ’चितवनबाट पत्रकार सूर्य प्रकाश कँडेलले शनिवारको अन्नपूर्णपोष्टमा लेखेका छन ‘पक्राउ परेका रामप्रसाद अधिकारीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १७ को उपदफा ३ अनुसार अधिक्तम तीन बर्ष कैद सजाय माग गरिने भएको छ भने पक्राउ पर्न बाँकी रहेका १० जना बिरुद्ध प्रहरीले मुलुकी ऐनको ज्यान सम्बन्धी महलकै दफा १३ को उपदफा ३ अनुसार सर्वस्वसहित जन्मकैदको सजाय माग गरेर मुद्दा दर्ता गर्ने तयारी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us