उपाध्यक्ष श्रेष्ठ निर्वाचन सार्ने लविङमा

काठमाण्डु टुडे २०७० असोज १२ गते ३:५१ मा प्रकाशित

काठमाण्डु, १२ असोज – एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ४ मंसिरको निर्वाचन सार्न अन्य दलका नेतासँग गोप्य छलफल गरेका छन् ।
उनले ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा काँग्रेस, एमाले र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाका ‘जुनियर’ narayan-kaji_20111226084444नेताहरुसँग गोप्य वार्ता गरेका हुन् ।

स्रोतका अनुसार त्यसबारे उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत जानकारी गराएका छैनन् । श्रेष्ठ निर्वाचन मिति पर सारेरै भए पनि वैद्य माओवादीलाई निर्वाचन प्रक्रियामा ल्याउनुपर्ने पक्षमा छन् । त्यसै कारण पार्टी केन्द्रीय कार्यालयमा रहेका सबैको निर्वाचन क्षेत्र टुंगो लागे पनि उनले कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्नेमा आफूले पछि मात्र निर्णय दिने बताउँदै आएका छन् ।
स्रोतका अनुसार बैठकमा सहभागीहरुबीच वैद्य माओवादी मोर्चा निर्वाचनमा आउने ग्यारेण्टी भए ४ मंसिरको निर्वाचन सार्न सबै दलका नेता सहमत देखिएका छन् । स्रोतका अनुसार बैठकमा श्रेष्ठले वैद्य मोर्चा निर्वाचन आउने ग्यारेण्टी भए मंसिर ४ को निर्वाचन सार्न र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन मुख्य नेतृवलाई सबैले आ–आफ्ना पार्टीमा दबाब दिनुपर्ने बताएका थिए ।

असन्तुष्ट दलका प्रतिनिधिले पनि खिलराजको राजीनामा र निर्वाचन मिति परिवर्तन भए आफूहरु निर्वाचनमा आउन तयार रहेको प्रतिबद्धता जनाएका थिए । वार्तामा एमाओवादीका श्रेष्ठ, काँग्रेसबाट केन्द्रीय सदस्य प्रदीप गिरी, एमालेबाट प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिट्ब्युरो सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य गोकर्ण विष्ट तथा मोर्चाबाट मणि थापा र पासाङ शेर्पालगायत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us