भावी प्रधानमन्त्रीमा कमल थापाको दाबी

काठमाण्डु टुडे २०७० असोज ११ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, ११ असोज – राप्रपा नेपालले आसन्न संविधानसभा निर्वाचनपछि आफ्ना अध्यक्ष कमल थापा मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेको छ ।
Kamal-Thapaशुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको घोषणापत्रमा संविधानसभा निर्वाचनपछि थापा प्रधानमन्त्री बन्ने दाबी गरिएको छ । उसले संवैधानिक राजसंस्थालाई मुख्य चुनावी नारा बनाएको छ । यस्तै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय स्वरुप हुने प्रस्ताव राप्रपा नेपालको घोषणापत्रमा छ । घोषणपत्रमा २ सय ७ सदस्यीय जनप्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रियसभा हुने दुई सदनात्मक व्यवस्था प्रस्ताव गरिएको छ । आफ्नो पार्टीको बहुमत आए आगामी ५ वर्षमा नेपाललाई लोडसेडिङमुक्त गर्ने दाबी गरेको छ ।

यस्तै उसले आफ्नो पार्टीले कहिल्यै पनि नेपाल बन्द नगर्ने प्रतिबद्धता घोषणापत्रमार्फत गरेको छ । पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ १ सय ९६ क्षेत्रका उम्मेदवारको नाम घोषणा गरियो । २ सय ४० वटै क्षेत्रमा चुनाव लड्ने र बाँकी क्षेत्रमा पनि केही दिनभित्रै उम्मेदवारको टुंगो लगाउने राप्रपा नेपालले बताएको छ । राप्रपा नेपालले अध्यक्ष कमल थापालाई काठमाण्डु– ५ र मकवानपुर– १ बाट उठाउने भएको छ ।

यस्तै सह–अध्यक्ष पदमसुन्दर लावती पाँचथर–२, उपाध्यक्ष राजीव पराजुली पर्सा–२, धवल शमशेर राणा बाँके–३, महामन्त्री चन्द्रबहादुर गुरुङ स्याङजा–१, भरत जंगम काठमाण्डु–१ सह–महामन्त्री बाबुकाजी प्रधान ललितपुर ३, वृजलाल यादव बारा–४, मनोज मल्ल धनुषा–६, मीनबहादुर सिंह धनुषा– ७ र ध्रुव  महर्जन काठमाण्डु –१० बाट चुनाव लड्ने भएका छन् ।

यस्तै चलचित्रकर्मी उद्धव पौडेल काठमाण्डु–४ गायिका मिरा राणा काठमाण्डु– ३ र गायक सञ्जय प्रधान काठमाण्डु– ६ बाट उठ्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us