कसले थप्यो गोपालमानको नाम सुटुक्क ?

काठमाण्डु टुडे २०७० असोज ११ गते ५:३५ मा प्रकाशित

Gopalman-Shresthकाठमाण्डु, ११ असोज – आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार छनौटको विषयलाई लिएर सबैजसो प्रमुख दलमा किचलो छ । एमाओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी लगायत सबैजसो दलमा उम्मेदवारको हानथाप छ । काँग्रेसमा सभापति सुशील कोइराला र शेरबहादुर देउवाबीचको अन्तरसंघर्षले पार्टीमा पटक पटक किचलो भैरहन्छ । पछिल्लो समय देउवा निकट गोपालमान श्रेष्ठको उम्मेदवारीको विषयमा विवाद भएको छ ।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिसमा नपरेका काँग्रेस केन्द्रीय सदस्य श्रेष्ठलाई संसदीय समितिले सिफारिसको सूचीमा राखेपछि विवाद शुरु भएको हो । काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले सिफारिस नै नगरिएको श्रैष्ठको नाम उम्मेदवारको सूचीमा परेको थाहा पाएपछि आपत्ति जनाएको छ ।

काँग्रेस क्षेत्र नम्बर २ का सभापति केदार काफ्लेले विज्ञप्ति निकालेर क्षेत्रका क्रियाशील सदस्यहरूको भेलाबाट उम्मेदवारमा सिफारिस नभएका केन्द्रीय सदस्य श्रेष्ठको नाम संसदीय समितिले सिफारिसको सूचीमा थप गर्नु कार्यकर्ताको भावनामाथि ठाडो हस्तक्षेप भएको टिप्पणी गरेका छन् । विज्ञप्तिमा नेपाली काँग्रेस केन्द्रीय समितिले पार्टीको केन्द्रीय निर्णय र परिपत्रविपरीत केन्द्रीय नेतालाई अनुकूल पर्ने गरी निर्णय गर्दा सिङ्गो पार्टीलाई नै ठूलो नोक्सानी हुनेतर्फ सचेत रहन संसदीय समितिलाई आग्रह गरिएको छ ।

यता नेपाली काँग्रेस स्याङ्जाका सभापति कमल पँगेनीले भने गोपालमान श्रेष्ठको नाम क्षेत्र नम्बर २ मा थपिएको भन्नेमा आफूलाई आधिकारिक सूचना नआएको बताए । ‘संसदीय समितिले क्षेत्रका कार्यकर्ताहरूको भावनालाई बुझेर निर्णय लिन्छ भन्नेमा म आशावादी छु, यदि त्यसो भएन भने पार्टीले पराजय बेहोर्नुपर्ने हुन सक्छ,’ उनले भने ।

आसन्न संविधानसभा निर्वाचनका लागि केन्द्रीय सदस्य श्रेष्ठलाई क्षेत्र नम्बर १ बाट तेस्रो नम्बरमा सिफारिस गरिएको थियो । श्रेष्ठको नाम क्षेत्र नम्बर १ मा रहे पनि २०५१ सालदेखिका हरेक निर्वाचनमा उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दै आएका थिए ।

स्याङ्जा क्षेत्र नम्बर २ बाट आसन्न संविधानसभा निर्वाचनका लागि महासमिति सदस्य भोजराज अर्याल, पूर्वजिल्ला सभापति खगेन्द्रराज रेग्मी र वर्तमान जिल्ला सभापति कमल पँगेनीको नाम सिफारिस भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us