जनकपुरमा एक प्राध्यापकको हत्या

काठमाण्डु टुडे २०७० असोज ११ गते ५:०३ मा प्रकाशित

dhanusa_districtधनुषा, ११ असोज– धनुषाको जनकपुरस्थित हजारी जनक सँस्कृत क्याम्पसका सहप्राध्यापकको हत्या भएको छ । सिराहाको अर्नमा घर भएका नेपाली विषयका सहप्राध्यापक सत्यनारायण गडेरीको हत्या भएको हो ।

उनको शव शुक्रबार विहान कुर्खा–६ स्थित इटाभट्टा नजिक फेला परेको छ । घाँटी रेटिएको र छातिमा गोली हानिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव नजिकै उनको मोटरसाइकल पनि फेला परेको छ । उनी नेपाल प्राध्यापक संघका उपसभापति थिए । प्रहरीले हत्याको अनुसन्धान भैरहेको जनाएको छ ।

हत्या गरिएको अवस्थामा महिलाको शव फेला

यसैबीच भक्तपुरको जगाते आदर्श बसस्टपसँगै सडकमा शुक्रबार बिहान एक महिलाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–११ र सिपाडोल गाविस–२ को सिमानामा पर्ने अरनिको राजमार्ग खण्डको मुख्य सडकमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिए । थापाका अनुसार मृतक महिलाको कञ्चटमा चोट लागेको र बायाँ हात भाँचिएको छ । मंगोलियन अनुहारको, रातो चप्पल र हरियो कुर्तासलवार लगाएकी महिलाको पहिचान भएको छैन ।

शवको अवस्था हेर्दा हत्या गरिएको हुनसक्ने भएकाले महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट आएको प्रहरीको विशेष टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us