काँग्रेसले सबै उम्मेदवार एकमुष्ठ टुङ्गो लगाउने

काठमाण्डु टुडे २०७० असोज ११ गते २:४२ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ११ असोज – नेपाली काँग्रेसले आगामी संविधानसभा निर्वाचनका उम्मेदवारको एकमुष्ठ टुङ्गो लगाउने भएको छ । उम्मेदवार छनोट प्रक्रिया सुरु भएको र छलफल सकारात्मक भएकाले सबै उम्मेदवार एकमुष्ठ टुङ्गो लगाइने काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिए ।

यसअघि विहीबार बसेको समितिको बैठकले आगामी संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारबारे केन्द्रमा प्राप्त राय, सुझाव र उजुरीमाथि छानबिन प्रक्रिया सकेको थियो । शुक्रबारको बैठक पनि उम्मेदवार छनौटमा केन्द्रित रहने नेता महतले बताए ।

सभापति सुशील कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवाबीचको विवादले संसदीय समिति गठनमा लामो समय खर्चेको काँग्रेसले उम्मेदवार छनौटमा पनि त्यस्तै नियति दोहोर्याउने संकेत देखाएको छ । गत शुक्रबार संसदीय गठन भएदेखि लगातार बैठक बस्दै आए पनि काँग्रेसले जिल्लाका विवाद मिलाउन समय खर्चिंदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us