उम्मेदवार टुङ्गो लगाउन एमाओवादी व्यस्त

काठमाण्डु टुडे २०७० असोज ११ गते २:४४ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ११ असोज–एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनको उम्मेदवार शुक्रबार तय गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा विहीबार बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको संयुक्त बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली शुक्रबार टुङ्गो लगाउने निष्कर्ष निकालेको हो ।

उम्मेदवार, पार्टीको चुनावी घोषणापत्र र चुनावी रणनीतिलगायत समग्र विषयमा छलफल जारी रहेकोले शुक्रबारको बैठकले नामावलीलाई अन्तिम रुप दिने नेता वर्षमान पुनले जानकारी दिए । ‘उम्मेदवार बन्न चाहनेहरूको आकांक्षीको संख्या तीन हजार भन्दा धेरै छ, त्यसबाट सीमित नाम छान्नु सजिलो विषय होइन,’ नेता पुनले भने, ‘निर्वाचनमा विजयी हुने उम्मेदवार शुक्रबार टुंगो लाग्छ ।’ सबै वर्ग क्षेत्रलाई मिलाएर समावेशी, समानुपातिक र जनताकोबीचमा लोकप्रियलाई उम्मेदवार बनाउने तयारी गरिएको उनको भनाइ छ ।

विहीबारको बैठकमा हिमाली र पहाडी जिल्लाका उम्मेदवारबारे छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us