राजदूत शर्मालाई सरकारले फिर्ता बोलायो

काठमाण्डु टुडे २०७० असोज १० गते ७:५८ मा प्रकाशित

Maya-Kumari_sharmaकाठमाण्डु, १० असोज – विवादास्पद छवि सार्वजनिक भएपछि कतारका लागि नेपाली राजदूत मायाँ कुमारी शर्मालाई सरकारले फिर्ता बोलाएको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको हो ।

तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले शर्मालाई कतारको राजदूत नियुक्त गरेको थियो । एकीकृत माओवादीले भने यसअघि नै शर्मालाई फिर्ता आउन आग्रह गरेको थियो । एमाओवादीको आग्रहलाई उनले अस्वीकार गरेकी थिइन् । उनी कतारस्थित नेपालीमाझ पनि अलोकप्रीय छिन् ।

कतारलाई ‘खुला जेल’ भन्ने अभिव्यक्ति दिएको र कतारमा रही लेख लेख्दै आएका एकजना नेपालीलाई स्वदेश फिर्ता पठाउन कतार सरकार समक्ष लिखित रुपमै अनुरोध गरेको लगायत गतिविधिपछि उनको विवादास्पद छवि चुलिएको थियो । नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलाई भेटेर दुई देशबीचको सम्बन्धमा असर पर्न नदिन शर्मालाई फिर्ता बोलाउन आग्रह गरेका थिए ।

आयल निगमलाई २ अर्ब ऋण दिने

मन्त्रिपरिषद बैठकले नेपाल आयल निगमलाई २ अर्ब ऋण दिने निर्णय पनि गरेको छ । सञ्चय कोष र नागरिक लगानी कोषबाट १-१ अर्ब गरि दुई अर्ब ऋण सहयोग दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री माधव पौडेलले जानकारी दिए । आयल निगमको घाटा पूर्ति गर्न सरकारले पटक पटक ऋण उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै परराष्ट्र सचिव अर्जुबहादुर थापालाई सार्कको महासचिव बनाउन पनि प्रस्ताव गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us