लुक्ला विमानस्थलमा हेलिकोप्टर दुर्घटना

काठमाण्डु टुडे २०७० असोज १० गते ६:२० मा प्रकाशित

helicopter crash at lukla 1काठमाण्डु, १० असोज– सोलुखुम्बुको लुक्लामा एयर डाइनेष्टिको हेलिकोप्टर विहीबार विहान दुर्घटना भएको छ । काठमाडौंबाट सोलुखुम्बुकालागि उडेको हेलिकोप्टर अवतरणको क्रममा विहान साढे आठ बजे दुर्घटना भएको हो ।

विमानस्थलको वरीपरी लगाइएको तारजालीमा ठोक्किएर नाईन एन कल साइन हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा क्याप्टेन अरुण मल्लसहित पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये चौरीखर्क ८ सोलुखुम्बुका दावा ग्याल्जेन शेर्पाको अवस्था गम्भीर छ । उनलाई उपचारकालागि काठमाण्डु ल्याइएको छ । क्याप्टेन मल्ल, चौरीखर्क ८ का ३० बर्षीया अनिता शेर्पा र लाक्पा सोनाम शेर्पाको अवस्था सामान्य छ । उनीहरुको लुक्लामै उपचार भैरहेको डिएसपी बद्रिविक्रम थापाले जानकारी दिए ।

तारजालीमा ठोक्किएपछि हेलिकोप्टरको पछिल्लो भागमा आगो लागेको थियो । आगोलाई प्रहरी टोलीले निभाइसकेको छ । सिम्रिक एयर र एयर डाइनेष्टिको हेलिकोप्टरबीच कस्ले पहिले अवतरण गर्ने भन्ने प्रतिस्पर्धाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, यसको पुष्टि भैसकेको छैन । दुर्घटनापछि केहीबेर अबरुद्ध भएको उडान अहिले शुरु भैसकेको छ ।

लुक्लाको तेन्जिङ हिलारी विमानस्थल विश्वकै १० जोखिमयुक्त विमानस्थलमा चिनिन्छ । गत बर्ष तारा एयरको हेलिकोप्टर पनि लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो । – तस्वीर : सोलु अनलाइन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us