मन्त्रिपरिषद् अध्यक्ष रेग्मी न्यूयोर्क प्रस्थान

काठमाण्डु टुडे २०७० असोज १० गते १५:१० मा प्रकाशित

Khil-raj-regmiकाठमाण्डु, १० असोज । तीव्र विरोधका बीच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति अमेरिका प्रस्थान गरेका छन् ।
अध्यक्ष रेग्मी बिहीबार राति ९ बजेर १५ मिनेटमा त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण दलमा उनकी धर्मपत्नी शान्ता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उद्धव बॉस्कोटा, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र अध्यक्ष रेग्मीका स्वकीयसचिव प्रकाश रेग्मी न्यूयोर्क गएका छन् । परराष्ट्रसचिव अर्जुनबहादुर थापा र न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई न्यूयोर्कबाटै प्रतिनिधि मण्डलमा थपिनेछन् । गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले भने निर्वाचन सुरक्षालगायत कामका लागि भन्दै भ्रमण रद्ध गरेका थिए । अध्यक्ष रेग्मीले शनिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले शनिबार नै राष्ट्रसंघीय महासचिव बान की मुन र भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेट्नेछन् । यस्तै उनी न्यूयोर्कस्थित नेपाली समुदायले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछन् । ४ असोजमै तय भएको रेग्मीको विरोधका कारण एक साता पछि सरेको हो । महासभामा दिगो विकास, सहश्राब्दी विकास लक्ष्य, महिला सशक्तीकरण, अतिकम विकसित मुलुकहरुको विकास, सन् २०१५ पछिका विकासका विषय र तिनको कार्यान्वयनका सम्भावना, अन्तर्राष्ट्रिय आप्रवासन, मानवअधिकारको प्रवद्र्धन, लागू औषध नियन्त्रण, अपराध रोकथाम तथा अन्तर्राष्ट्रिय आतङ्कवादविरुद्धको लडाईंलगायत विषयमा छलफल हुनेछ । अध्यक्ष रेग्मी आगामी १५ असोजमा स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us