प्रेम सम्बन्धमा शिक्षकको हप्काइपछि छात्रा बेपत्ता

काठमाण्डु टुडे २०७० असोज १० गते १:३८ मा प्रकाशित

पोखरा, १० असोज – सहपाठीसँग प्रेम गरेको भन्दै शिक्षकले गाली गरेपछि कास्कीकी एक छात्रा चार दिनदेखि बेपत्ता छिन् । कास्कीको पुरुन्चौर गाविस घर भई हाल पोखराको बगरमा बस्दै आएका नवराज गौतमकी १६ वर्षीया छोरी अश्लेषा गौतम बेपत्ता भएकी हुन् । उनको गत आइतबार साँझदेखि अत्तोपत्तो छैन ।

पोखराको सिम्पानीमा सञ्चालित करुणानिधि उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने छात्रा अश्लेषाले आफ्नै सहपाठी एक छात्रसँग कोठामा गफ गरिरहेको बेलामा त्यहाँका एक शिक्षकले गाली गरेको र त्यसपछि हिँडेकी उनी घर नफर्केको उनका अभिभावक ऋषि गौतमले बताए । बेपत्ता छात्रा अश्लेषाको पोखराको सेती नदीस्थित गाईघाटको बगरमा झोला, टाइ र जुत्ता भेटिएको अभिभावकले बताएका छन् ।

अभिभावकहरुले पत्रकार सम्मेलन गरी विद्यालयको हेलचक्र्याइँबाट छोरी वेपत्ता भएको भन्दै तत्काल खोजी गरिदिन विद्यालय प्रशासनसँग माग गरेका छन् । प्रहरीसँगको समन्वयमा अभिभावकहरुले अश्लेषाको खोजीकार्य जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us