राष्ट्रिय गौरवका २१ आयोजनामा स्रोत अभाव नहुने

काठमाण्डु टुडे २०७० असोज ९ गते १७:२६ मा प्रकाशित

काठमाण्डु–सरकारले राष्ट्रिय गौरवका २१ वटा आयोजनाका लागि साधन स्रोतको अभाव हुन नदिने प्रतिबद्धता दोहोरयाएको छ । ती आयोजनाका वारेमा बुधवार मन्त्रिपरिषद कार्यालयमा भएको प्रगति समीक्षा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले त्यस्तो प्रतिबद्धता दोहोरयाएका हुन । 
राष्ट्रिय गौरवका आयोजनामा साधन र स्रोतको अभाव नहुने बिश्वास दिलाउदै बास्कोटाले वार्षिक कार्ययोजना निर्माण गरी बहुबर्षीय ठेक्का लगाई काम गर्न निर्देशन दिएका छन । राष्ट्रिय गौरवका आयोजनामा नतिजामा आधारित कार्य सम्पादन करार गर्न र अनलाईन पद्धतिमा प्रगति पठाउन सम्बन्धित पदाधिकारीलाई सचिव बास्कोटाले निर्देशन दिए ।
सिंचाई मन्त्रालय अन्तर्गत ४ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरिएको छ । जसअनुसार ३३ हजार सातसय ६६ हेक्टर जमिनमा सिंचाई सुबिधा उपलब्ध हुने सिक्टा सिंचाईमा हालसम्म सात अर्व ८९ करोड खर्च भैसकेको छ । सो आयोजनाको हेडवक्स निर्माण भएको छ भने ३५ किलोमिटर मूल नहर निर्माण अन्तिम चरणमा पुगेको छ । सो आयोजनामा अव १५ किमि मूल नहर निर्माण गर्न र हेड वक्समा गेट राख्न बाँकी छ ।
त्यस्तै २० हजार तीन सय हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने रानी जमरा कुलरिया सिंचाई योजनामा विश्व बैंकको समेत सहयोग छ । सो आयोजनाको हेडवक्स निर्माणको ९० प्रतिशत काम पूरा भएको छ भने करिव आठ दशमलव पाँच किलोमिटर मूल नहर बन्नु पर्नेमा दुई किलोमिटर नहर निर्माण भएको छ । ६० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य सहित अगाडि वढेको ववई सिंचाई आयोजनाको चार सय मिटर भन्दा लामो साईफन निर्माणको काम पूरा भएको छ । चालू आर्थिक बर्षमा ४५ करोड रुपैयाको लागतमा नयाँ नहर निर्माण गर्ने गरी वजेट विनियोजन भएको छ । भेरी ववई डाईभर्सनवाट ४८ मेगावाट बिद्युत उत्पादन गर्ने र १२ किमिको सुरुङ्ग निर्माण गर्ने योजना छ । ववई सिंचाईको क्षमता ६० हजार हेक्टर जमिनमा सिंचाई गर्ने गरी वृद्धि गरिन लागेको छ ।
उर्जा मन्त्रालय अन्तर्गत ३ वटा आयोजना राष्ट्रिय गौरवमा परेका छन् । त्यसमध्ये सात सय ५० मेगावाटको पश्चिम सेती जलबिद्युत आयोजनामा चीनको थ्रि गर्जेज कम्पनीले लगानी गर्ने गरी लगानी वोर्डले काम गरिरहेको छ भने ६ सय मेगावाटको वुढी गण्डकी जल विद्युत आयोजनाको संभाव्यता अध्ययन र बिस्तृत परियोजना प्रतिवेदन र ठेक्का सम्झौताको कागजात तयार गर्न एक फेन्च कम्पनीले काम गरिरहेको छ । यसैगरी चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जल विद्यूत आयोजनामा करिव १६ किमि टनेल निर्माण गर्नु पर्नेमा ११ दशमलव तीन किलोमिटर सुरुङ तयार भएको छ । छलफलमा उर्जा सचिव विश्व प्रकाश पण्डितले सन्तोषजनक ढंगले काम भैरहेको बताए ।
मेलम्ची खानेपानी आयोजनाको पानी टयाङकी र सुरुङ निर्माणमा काम गर्न र पानी प्रशोधन केन्द्रमा काम गर्न छुट्टा छुट्टै दुई वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । सो निर्माण कम्पनीले आगामी साता स्थानीय ठेकेदारलाई काममा परिचालन गर्दैछ । यी दुवै कामको निर्माण छिट्टै प्रारम्भ हुदैछ ।
सचिव वास्कोटाका अनुसार पर्यटन मन्त्रालय अन्तर्गत निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल वुटमा दिने गरी राष्ट्रिय योजना आयोगमा विचाराधीन अवस्थामा छ भने भैरहवामा ठूलो आकारका जहाज अवतरण गर्न मिल्ने गरी तीन हजार मिटर लामो रनवे निर्माण गर्न एसियाली बैंकसँग कुराकानी भैरहेको सचिव बास्कोटाले बताए । सो आयोजनाको पछिल्लो लागत ८५ दशमलव पाँच मिलियन अमेरिकी डलर छ । पोखरालाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्न चिनिया एक्जिम बैंकसँग कुराकानी भैरहेको छ । त्यसलाई छिटै टुंगोमा पुरयाउन निर्देशन दिए ।
सचिव बास्कोटाका अनुसार यसै आर्थिक बर्षदेखि राष्ट्रिय गौरवको आयोजनामा परेका लुम्विनी विकास कोष र पशुपति विकास कोषले पनि आ–आफ्नो कामलाई तिव्रता दिएका छन् । एक हजार सात सय ९८ किलोमिटर लामो हुलाकी राजमार्गमा पहिलो चरणमा ६ सय सात किमि सडक निर्माण हुनु पर्नेमा हाल एकसय २५ किमी ग्राभेल भएको छ । त्यस्तै एक सय २५ वटा पुलमा २० वटा पुल पुरा भएको छ । चालु आर्थिक बर्षमा थप २० वटा पुल तयार हुनेछ ।
यसैगरी एक हजार सात सय ७६ किमिको मध्यपहाडी लोकमार्गको दैलेख खण्डमा पाँच किलोमिटर ट्रयाक खुल्न बाँकी छ । पूर्वतर्फ ५५ किमि र पश्चिम तर्फ ३० किमि कालोपत्रे गर्ने गरी काम भैरहेको छ । साथै, एक सय ९५ किमिको कोशी कोरिडोर तीन सय ५१ किमिको गण्डकी कोरिडोर र दुई सय ८८ किमिको कर्णाली कोरिडोरमा पनि सन्तोषजनक ढंगले काम भैरहेको कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौ–तराई मधेश जोड्ने ७६.२ किमिको द्रुत मार्गमा लगानीकर्ता खोज्ने काम भैरहेको छ भने पूर्व पश्चिम र अन्य क्षेत्रमा समेत गरी एक हजार तीन सय १७ दशमलव चार किमि रेलमार्ग निर्माण गर्ने लक्ष्य अनुसार पूर्व पश्चिम रेल मार्गको बिस्तृत इन्जिनियरिङ्ग सर्वेको काम पूरा भएको छ । यसैगरी २१ जिल्लाहरुमा राष्ट्रपति चुरे भावर संरक्षणको काम भैरहेको छ । वैठकमा सचिव वास्कोटाले राष्ट्रिय गौरवका आयोजनामा काम गर्न पाउनुलाई अवसर र गौरवको रुपमा लिई देखिने गरी काम गरेर नतिजा निकाल्न सम्बद्ध पदाधिकारहरुलाई आग्रह गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us