प्रचण्डका कार्यकर्ता बैद्य लडाकुको नियन्त्रणमा

काठमाण्डु टुडे २०७० असोज ९ गते ४:०० मा प्रकाशित

प्यूठान ९ असोज–मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संबिधानसभा निर्वाचनका पक्षमा उभिएका नेता कार्यकर्ता प्रति आक्रमणको निशाना बनाउन थालेको छ । 
एकीकृत माओवादीका प्युठानका संयोजक कृष्ण अधिकारीलाई बैद्यका नेतृत्वको नेकपा–माओवादीका लडाकुले नियन्त्रणमा लिएका छन । प्युठानका जनस्वंयमसेवक दलका अध्यक्ष बिश्व केसीले र सचिव हरि बस्नेतसहित करीव ४० जनाको समूहले अधिकारीलाई करीव एक घण्टा नियन्त्रणमा लिएको एकीकृत माओवादीको मगराँत राज्य समितिका इन्चार्ज लोकेन्द्र बिष्टमगरले बताए ।

बिष्टमगरका अनुसार पार्टी कामका सिलसिलामा प्युठानको नयाँ गाउँ गाविस–३मा गाविस स्तरिय कार्यकर्ता बैठक सकेर फर्कने क्रममा मंगलवार साँझ साढे ६ बजे अधिकारीलाई जनस्वयमसेवकका कार्यकताले अनावश्यक सोधपुछ र मानसिक यातना दिएका थिए ।जनस्वंयमसेवकका कार्यकर्ताले अधिकारीलाई अन्तरसंघर्षमा धोका दिएको, विकास निर्माणको आश्वासन बाँडेको जस्ता आरोप लगाएको बिष्टमगरले बताए ।

माओवादीका कार्यकर्ताले गैह्र कम्युनिष्ट र गैर क्रान्तिकारी चरित्र प्रदर्शन गरेको उल्लेख गर्दै त्यस्ता गतिबिधिले सो पार्टी राजनीतिक र चारित्रिक रुपमा रसातलतिर भासिदै जाने बिष्टमगरले बताएका छन । उनले बुधवार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ‘यदि आफ्नो बचेखुचेको छवि जोगाउने हो भने नेकपा–माओवादीले त्यस किसिमका अराजक हर्कतहरु बन्द गरोस् । हामी सदासयतापूर्वक सुझाव दिन्छौं । अन्यथा ‘के भयो मंगले आफ्नै ढंगले’ हुन बेर लाग्ने छैन । पछिको पश्चातापले के काम दिन्छ र !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us