मन्त्रिपरिषद् अध्यक्ष न्यूयोर्क गएपछि बालुवाटार घेर्दै विद्यार्थी

काठमाण्डु टुडे २०७० असोज ८ गते १०:२० मा प्रकाशित

काठमाण्डु, ८ असोज– सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको निर्णय सच्याउने संकेत नदेखिएपछि १७ विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
Baluwatarबागबजारस्थित अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा मंगलबार साँझ बसेको संयुक्त विद्यार्थी संघर्ष समितिको बैठकले तीन दिने आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । अखिल क्रान्तिकारीका सचिव रामचन्द्र अधिकारीले मूल्यवृद्धिको निर्णय  फिर्ताका लागि मंगलबार ४ बजेसम्मको अल्टिमेटम दिइएको र सो समयमा आयल निगम र आपूर्ति मन्त्रालयले माग पूरा गर्नेबारे चासो नदिएका कारण बाध्य भएर आदोलनका कार्यक्रम तय गरिएको काठमाण्डु टुडेलाई बताए ।

अधिकारीले आन्दोलनका कार्यक्रमअनुसार बुधबार बिहान ७ बजेदेखि ९ बजेम्म देशभरका क्याम्पस अगाडि प्रदर्शनका साथै सरकारी नम्बर प्लेटका सवारी साधन चलाउन रोक लगाइने जानकारी दिए । अधिकारीका अनुसार यस्तै १० गते बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय घेर्ने र ११ गते बालुवाटारस्थित मन्त्रिपरिषद् अध्यक्षको सरकारी निवास अगाडि प्रदर्शन गर्ने कार्यक्रम बैठकले तय गरेको छ ।  मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भने १० असोजमै संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाँदैछन् ।
आयल निगम सञ्चालक समितिको २६ भदौको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ मूल्यवृद्धि गरेपछि त्यसविरुद्ध विद्यार्थीले लगातार आन्दोलन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us