राजमो र सजमोबीच पार्टी एकीकरण

काठमाण्डु टुडे २०७० असोज ८ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, असोज–चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजीलाल वाईवा संयोजक रहेको संयुक्त जनमोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकीकरण घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम राष्ट्रिय जनमोर्चा नै राखिएको छ । सहमतिअनुसार एकीकृत पार्टीको नेतृत्व केसीले नै गर्नेछन् । पत्रकार सम्मेलनमा र वाम– लोकतान्त्रिक विचारधाराका आधारमा राष्ट्रियता र जनजीविकाका सवालमा निरन्तर संघर्ष गर्ने सहमतिसहित पार्टी एकीकरण भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले यसअघि पनि सँगै रहेकामा सैद्धान्तिक मत भिन्नताका कारण अलग भए र परिस्थितिले पुनः दुई पार्टीबीच एकीकरण भएको बताए । उनले एकीकरणले अखण्ड राज्य कायम राख्ने अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गरे । उनले राजावादी र मधेसवादीबाहेकका दलहरुसँगको सहकार्यमा एक साताभित्रै पार्टी उम्मेदवार घोषणा गर्ने जानकारी दिए ।

अर्को एक फरक प्रसंगमा उनले निर्वाचन कुनै पनि हालतमा हुनैपर्नेमा जोड दिँदै निर्वाचन नभए मुलुक विखण्डनकारीको मनोबल बढ्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us