
काठमाण्डु, ८ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।
पार्टी छाड्नेमा केन्द्रीय सदस्यद्वय महेन्द्र पासवान र धीरज पटेलसहित ठूलो संख्यामा नेता कार्यकर्ताले माओवादी छाडेका हुन् । उनीहरूले यसअघि बुधबार अध्यक्ष वैद्यलाई सामूहिक राजीनामा बुझाएका थिए । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी पार्टी छाड्नेमा धनुषा इन्चार्ज दीपक यादव, बारा इन्चार्ज रञ्जित पटेल, मधेस विशेष जिल्ला संगठन समिति नेवाः राज्य संयोजक धनश्यामप्रसाद रजक, पर्सा सह–इन्चार्ज राजदेव पासवान, धनुषा सह–इन्चार्ज राजेश्वर महतो, धनुषा सचिव अजय पासवान, सप्तरी सह–इन्चार्ज चर्तुनारायण चौधरी, बारा सह–सचिव राकेश यादव, बारा सह–सचिव श्यामकिशोर यादव छन् ।
यस्तै पार्टी छाड्नेमा राज्य भोजपुरा र मिथिलाका २५ राज्य समिति सदस्य छन् । पार्टी परित्याग गर्नेहरुले महेन्द्र पासवान संयोजकत्वमा १९ सदस्य पछि थप्ने गरी ५१ सदस्यीय नेकपा–माओवादी (विद्रोही) केन्द्रीय तर्दथ समिति गठन गरेका छन् । पत्रकार सम्मेलनमा घनश्यामप्रासद रजक नेतृत्वमा २५ सदस्यीय मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी घोषणा गरियो । पत्रकार सम्मेलनमा पासवानले नेतृत्वको कार्यशैली मन नपरेकाले पार्टी छाडेको बताए । उनले पार्टी नेतृत्व राष्ट्रियताका नाममा दरबारिया र संघीयताविरोधीसँग मिलेको, मधेसी जनताको एजेण्डा छाडेको तथा वर्गीय र जातीय मुद्धालाई कम प्राथमिकतामा राखेका कारण आफूहरु पार्टीमा बस्न नसेकको बताए । ‘पार्टी नेतृत्वले राष्ट्रियताका नाममा दरबारिया र संघीयताविरोधीसँग मिल्ने काम ग¥यो’, पासवानले भने, ‘नेतृत्वको खराब कार्यशीलै हामीलाई सह्य भएन ।’ आफूसहित ९ केन्द्रीय सदस्यले गत १७ असारमा अध्यक्ष वैद्यलाई बुझाएको १३ बुँदे असहमतिपत्रलाई बेवास्ता गरेका कारण बाध्य भएर पार्टी छाड्नुपरेको उल्लेख गरे ।
उनले पार्टीले लिएको निर्वाचन बहिस्कार नीतिको पनि विरोध गरे । राजीनामा दिएलगत्तै सोमबार दिनभर सचिव नेत्रविक्रम चन्दले पार्टी छाड्नबाट पासवान समूहलाई रोक्ने प्रयास गरेका थिए । स्रोतका अनुसार पासवान समूह एकीकृत माओवादी प्रवेश गर्ने तयारीमा छ । त्यसका लागि एकीकृत माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेतृत्वतहमा छलफल भइरहेको एक नेताले बताए ।