ब्याज घटाउँदै घरजग्गामा कर्जा

काठमाण्डु टुडे २०७० असोज ७ गते ६:१६ मा प्रकाशित

काठमाडौं – राजनीतिक अस्थिरताले व्यावसायिक क्षेत्रमा लगानी खुम्चिँदै गएपछि बैंकहरूले घरजग्गा क्षेत्रमा धमाधम ऋण लगानी बढाएका छन् । यस्तो लगानीमा उनीहरूले ब्याजसमेत घटाउन थालेका छन् ।
अन्य क्षेत्रमा लगानीको वातावरण कम र बैंकमा लगानीयोग्य पुँजी (तरलता) बढ्दै गएपछि बैंकहरू घरजग्गामा लगानी गर्न बाध्य भएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । उनका अनुसार बैंकहरूले ब्याजदरसमेत घटाएका छन् । “१३ देखि १७ प्रतिशतसम्म पुगेको घरजग्गाको ब्याजदर अहिले ९ प्रतिशतसम्म झरेको छ,” उनले भने, “यसबाट बैंकले घरजग्गाको लगानीमा जोड दिएका छन् भन्ने देखिन्छ ।” घरजग्गा कारोबारमा सुधारका संकेत देखिएपछि ग्राहकलाई आकर्षित गर्न बैंकहरूले ब्याजदर घटाउन प्रतिस्पर्धा नै सुरु गरेको उनले बताए ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल पनि घरजग्गा क्षेत्रमा बैंकको लगानी बढेको बताउँछन् । “लामो समयदेखि उतारचढावमा रहेकोे घरजग्गाको मूल्य घट्नु र खरिदकर्ता बढ्नुले हाउजिङ लोन लिनेको संख्या उकालो लाग्दैछ,” नेपाल बैंकर एसोसिएसनका उपाध्यक्षसमेत रहेका पौडेलले भने, “त्यसैले बैंकहरू यसमा उदार बनेका छन् ।” बैंकको लगानी गर्ने क्षेत्र कम हुँदा र तरलता बढ्दा बैंकहरूले ब्याजदर घटाई लगानी बढाएको उनले बताए ।
बैंकहरूले दसैं–तिहारको अवसर पारी आवास कर्जामा विशेष छुट योजनासमेत ल्याएका छन् । एभरेस्ट बैंकले ९.९५ प्रतिशतमा आवास कर्जा ल्याएको छ । कमर्ज एन्ड ट्रस्टले ९.५ प्रतिशत ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन थालेको छ । १ वर्षसम्म यो ब्याजदर परिवर्तन नहुने जानकारी बैंकले गराएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ११.९९ प्रतिशत ब्याजदरमा आवास कर्जा कार्यक्रम ल्याएको छ । यीमात्रै नभई अरु बैंकले पनि ब्याजदर घटाई ग्राहक आकर्षित गरिरहेका छन् ।
“बैंकले घरजग्गामा लगानी बढाउनु भनेको सुस्त रहेको घरजग्गा कारोबारमा सुधारको संकेत देखिनु हो,” नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनी भन्छन्, “बैंकले १७ प्रतिशतसम्म पुगेको ब्याजदर घटाई ९ प्रतिशतमै ऋण उपलब्ध गराउनु र घरजग्गाको मूल्यसमेत घट्नुले घरजग्गा खरिद गर्ने यो सही समय हो । ३–४ प्रतिशतमा रकम डिपोजिट गर्नुभन्दा अहिले घरजग्गा खरिद गर्नु फाइदा हुन्छ ।”
यसअघि घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नु र बैंकले समेत जभावाभी लगानी गर्नुले समस्या उत्पन्न भएको भन्दै लोहनीले अब वास्तविक खरिदकर्तासँग घरजग्गा कारोबार हुने भएकाले समस्या नहुने बताए ।
हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले व्यक्तिगत ऋणमा मात्र बैंकले प्रचार र लगानी केन्द्रित गरेको बताए । “बैंकहरूले राष्ट्र बैंकको सीमाभित्र रहेर नै लगानी गरिरहेका छन्,” नेपाल बैंकर एसोसिएसनका अध्यक्षसमेत रहेका राणाले भने, “बैंकहरूले व्यक्तिगत ऋणमा लगानी बढाए पनि व्यावसायिक ऋणमा भने सचेत छन् ।”
घरजग्गामा बैंकहरूको अन्धाधुन्ध लगानीले अर्थतन्त्र नै प्रभावित बनेको भन्दै राष्ट्र बैंकले ०६६ पुस २ मा सीमा लगाउँदै बैंकहरूले कुल कर्जाको ४० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने बाध्यकारी व्यवस्था ल्याएको थियो । त्यसपछि ०६७ भदौ ५ मा व्यक्तिगत आवासीय घर कर्जातर्फ ‘०६८ असार मसान्तसम्म ३० प्रतिशत र ०६९ असार मसान्तसम्म २५ प्रतिशत भुक्तानी गर्नुपर्ने’ नियम लागू गरेको थियो । त्यस्तै, ०६७ चैतमा व्यक्तिगत आवासीय घरकर्जातर्फ ६० लाख रुपैयाँभन्दा बढी लिन नपाउने गरी सीमा तोकिएको थियो ।
आव ०६८÷६९ को बजेटले व्यक्तिगत आवासीय घरकर्जातर्फको सीमा ६० लाखबाट बढाएर ८० लाख पु¥याएको थियो । ०६९ असार मसान्तसम्म सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरेको अवस्थामा कर्जा नवीकरण गर्न पाउने व्यवस्था पनि सो बजेटले गरेको थियो । ०६८ मा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जा ८० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याएको थियो ।
घरजग्गामा अत्यधिक लगानीले बैंकहरू नै धराशायी नहून् भनेर केन्द्रीय बैंकले लगाएको सीमाका कारण ४ वर्षदेखि यो क्षेत्रमा मन्दी आएपछि सरकारले बेला–बेला खुकुलो नीति भने लिँदै आएको छ । कारोवार दैनिक 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us