क्रिकेटर शरदले पाए नेपाली नागरिकता !

काठमाण्डु टुडे २०७० असोज ६ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, ६ असोज –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकरले आईतवार नेपाली नागरिकता पाएका छन । लामो समयको प्रयासपछि गृहमन्त्रालयले उनलाई अंगिकृत नागरिकता प्रदान गरेको हो । यसअघि शुक्रवार गृहमन्त्री माधवप्रसाद घिमिरेले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरदलाई नागरिकता दिने निर्णय गरेको जानकारी गराएका थिए ।
उच्चस्तरीय राजनीतिक समितिले उनलाई नागरिकता दिनका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको थियो । नेपालको अन्तरिम संविधानको धारा नौ अनुसार शरदले अंगिकृत नागरिकता पाएका हुन । नेपाली आमा र भारतीय बाबु भएका उनी सन् १९८८ मा यूएईमा जन्मिएका थिए । उनी परिवार सहित १९९५ देखि नेपालमा स्थायी रुपमा बसोबास गरेका छन । १५ वर्षमुनिको समूहदेखि नेपाली क्रिकेटमा प्रतिनिधित्व गर्दै आएका उनले अहिले राष्ट्रिय टिममा आफ्नो स्थान बनाउन सफल भएका छन । नेपाल क्रिकेट संघ क्यानका सल्लाहकार एवं प्रचण्ड पुत्र प्रकाशले सरदलाई नागरिकता प्रदान गर्नका लागि पहल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us