सिरियाले बुझायो रासायनिक हतियारको सुची

काठमाण्डु टुडे २०७० असोज ६ गते ३:०० मा प्रकाशित

काठमाण्डु ६ असोज–रासायनिक हतियारको निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था अर्गनाईजेशन फर द प्रिवेन्शन अफ केमिकल विपन्स्(ओपीसीडब्ल्यु) ले सिरियाले उसलाई आफुसँग भएका रासायनिक हतियारको सुची बुझाएको जनाएको छ ।

संस्थाले आवस्यकता अनुसारको सबै सुची सिरियाबाट प्राप्त भएको जनाएको छ । सिरियाले रुस र अमेरिकाबीच भएको सहमति अनुसार नै निर्धारित समयसिमा भित्र रासायनिक हतियारको सुची बुझाएको हो । रुस र अमेरिकाबीचको सहमतिमा सिरियालाई रासायनिक हतियारको सुची बुझाउन शनिबारसम्मको समय सिमा दिईएको थियो । एक अनुमान अनुसार सिरियामा करिब एक हजार टन रासायनिक हतियार छ । 
सहमति भए अनुसार सिरियाले यी सबै रासायनिक हतियार सन् २०१४ सम्ममा नष्ट गरिसक्नु पर्ने छ । ओपीसीडब्ल्युले सिरियाले हतियारको सुची बुझाएपछि प्रतिकृया दिँदै सिरियाले आफुले चाहे अनुसारकै रासायनिक हतियारको सुची बुझाएको पुष्टि गरेको छ । संस्थाले आफनो प्राविधक सचिवालयले बुझाईएको सुचिको जाँच गरिरहेको जनाएको छ ।
गत सोमबार प्रकाशित संयुक्त राष्ट्र संघको जाँच रिपोर्टमा गत अगस्त २१ तारिख सिरियाको राजधानी दमास्कस नजिकै सिरिन नामक रासायनिक ग्यास प्रयोग भएको पुष्टि गरेको थियो । राष्ट्र संघको रिपोर्टमा घटनामा कसको संलग्ना थियो भन्ने चाहि किटान गरिएको थिएन । अमेरिका लगायत केहि पश्चिमा मुलुकले सिरियाली सरकारलाई रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । सिरियाले भने आरोप खारेज गर्दै विद्रोही पक्षले रासायनिक हतियारको प्रयोग गरेको दावी गरेको छ । रुसले सिरियाको दावीलाई समर्थन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us