
काठमाण्डु, २ असोज–ब्राजीलकी राष्ट्रपति डिल्मा रुसेफले, संयुक्त राज्य अमेरीकाको गुप्तचर एजेन्सीहरुले उनको सरकार र ब्राजीलका ठूला ब्यापारिक प्रतिष्ठानहरुको जासूसी गरेको भन्ने आरोपहरुका माझ आफूले आगामी महिना गर्न लागेको वाशिंगटनको राजकीय भ्रमण स्थगित गरेकी छिन्।
त्यस्तो निर्णय लिंदा राष्ट्रपति रुसेफ एकदमै अप्ठ्यारो अवस्थामा परेको देखिएको छ।
भूतपूर्व अमेरिकी गुप्तचर कर्मचारी एडवर्ड स्नोडनले सार्वजनिक गरिदिएका गोप्य दस्तावेजहरुका अनुसार, अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी, एनएसए ले, ब्राजीलकी राष्ट्रपतिले आफ्ना सहायक र राजनीतिक सहकर्मीहरुलाई पठाएको इमेल सन्देशहरु गुप्तरुपमा हेर्ने गरेको खुलासा भएको थियो।
आक्रोश
यो घटनाले ब्राजीलका सर्वसाधारण माझ आक्रोश उत्पन्न गराएको थियो।
त्यसपछि भएका त्यस्ता खुलासाहरुमा सरकारी तेल कम्पनी पेट्रोबासमाथि पनि एनएसए ले जासुसी गरेको भन्ने पनि सार्वजनिक भएपछि, राष्ट्रपति माथि अमेरिकाको राजकीय भ्रमण रद्द गर्न चर्को दबाब परेको थियो।
सन् १९९५ पछि ब्राजीलको कुनै पनि नेताले गर्न लागेको त्यस्तो प्रकारको त्यो पहिलो भ्रमण हुनेवाला थियो।
गएरात राष्ट्रपति ओबामासंग भएको बीस मिनेट लामो कुराकानीपछि पनि राष्ट्रपति रुसेफले भ्रमण रद्द गर्ने निर्णयलाई परिवर्तन गरीनन्।
उक्त कुराकानीका क्रममा भ्रमण रद्द गर्ने निर्णय नलिन राष्ट्रपति ओबामाले आग्रह गरेका बुझिएको छ।
निर्णय
ब्रासिलीयाबाट जारी बक्तव्यमा, दुवै राष्ट्रपतिले भ्रमण स्थगित गर्ने निर्णय गरेका बताइएको छ तर भावी भ्रमणका लागि नयां मितिको भने घोषणा गरिएको छैन।
उक्त बक्तव्यमा, जासुसीका आरोपहरुको पक्का अनुसन्धान नभएसम्म राष्ट्रपतिको भ्रमण हुन नसक्ने जनाइएको छ।
यसप्रति प्रारम्भिक प्रतिक्रिया जनाउंदै ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले, भ्रमण रद्द गर्ने निर्णय राष्ट्रपति ओबामा र राष्ट्रपति रुसेफले संयुक्त रुपमा लिएको बताउंदै स्थितीलाई केहि कम तनावपूर्ण बनाउने प्रयास गरेका छन्।
“मेरो बुझाइ अनुसार, राष्ट्रपति ओबामा र राष्ट्रपति रुसेफ दुवैजना, कुनै एउटा दुईपक्षीय मुद्दाको विषयले हामीहरुबीच ब्यापक विषयहरुमा विद्यमान आपसी सम्बन्धलाई ओझेलमा पार्न दिनु हुंदैन भन्नेमा विश्वस्त छन्। चाहे त्यस्तो मुद्दा जतिसुकै महत्वपूर्ण र चुनौतीपूर्ण होस्।
“र हामीले यो मुद्दाले ब्राजील र अन्य देशहरुमा उत्पन्न गरेको चिन्तालाई बुझेका छौं।“, प्रवक्ता जे कार्नीको भनाई थियो।
प्रश्न
भ्रमण रद्द गर्ने राष्ट्रपतिको निर्णयलाई केहिले सानो तिनो राष्ट्रवादबाट प्रेरित कदम भन्नेछन् भने, केहि ब्राजीलियन ब्यापारीक नेताहरुले जोखिमपूर्ण आर्थिक वातावरणका माझ अमेरिका जस्तो महत्वपूर्ण व्यापारिक साझेदारलाई चिढ्याउन सक्ने निर्णय पछाडीको बुद्धिमत्तालाई प्रश्न गर्नेछन्।
तर राजनितिक दबाब राष्ट्रपति माथि निकै चर्को रहेको थियो। उनले, ब्राजीलका सडकहरुमा विद्यमान आक्रोशलाई ध्यानमा राखेको जस्तो देखिन्छ, किनकी यहां मानिसहरु एनएसए ले गरेको जासूसीका आरोपहरुका सम्बन्धमा अमेरिकाले उपयुक्त प्रतिक्रिया जनाउन या क्षमायाचना गर्न बांकी नै रहेको ठान्दछन्।
उनले अमरिकी नेशनल सिक्योरिटी एजेन्सी एनएसएले आफू, आफ्ना सहयोगी तथा तेल कम्पनी पेट्रोब्रासबीच इमेलमा आदानप्रदान भएको सूचना गैरकानुनी ढंगले रोकेर पढेको आरोप लगाएकी छन् । त्यसबारे पूर्वअमेरिकी जासुसी प्रमुख एडवर्ड स्नोडेनले केही महिनाअघि खुलासा गरेका थिए । रौसेफले आफ्नो गोप्य इमेल पढेको पुष्टि भए एनएसएको अवैध कामलाई औद्योगिक जासुसी भन्न सकिने उल्लेख गरेकी छन् । रौसेफले गर्न लागेको यो भ्रमण सन् १९९५ यता ब्राजिलका राष्ट्र प्रमुखको पहिलो भ्रमण थियो । बिबिसी/अन्तराष्ट्रिय एजेन्सी