मनोनयन दर्ताको समय बढाउन ठूला दलको माग

काठमाण्डु टुडे २०७० असोज १ गते ४:५६ मा प्रकाशित

photo-2काठमाण्डु, १ असोज – उच्चस्तरीय राजनीतिक समितिमा आबद्ध दलहरुले आगामी ७ गतेका लागि तोकिएको समानुपातिक तर्फको मनोनयन दर्ता केही समय पछि सार्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई मंगलबार विहान भेटेर उनीहरुले थप समय मागेका हुन् ।

उम्मेदवार चयनमा केही समय लाग्ने भएकाले थप समय मागेको र आयोगबाट सकारात्मक जवाफ पाएको काँग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यालयमा भएको भेटमा प्रमुख आयुक्त उप्रेतीले थप समय उपलब्ध गराउँदा निर्बाचन कार्यतालिका प्रभावित हुनसक्ने आशंका व्यक्त गर्दै छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए ।

मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावकालागि आयोगले असोज ७ गते समानुपातिक र १० गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न मिति तोकेको छ ।

\यसैबीच आउँदो मंसिरमा हुने संविधानसभा दोस्रो निर्वाचनका लागि मंगलबारदेखि देशभर निर्वाचन कार्यालयहरु खोलिएका छन् । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि २ सय ४० वटै निर्वाचन क्षेत्रमा कार्यालय खोलिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ भने आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा मात्र दर्ताको व्यवस्था मिलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us